F
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय,घारिवन

अपडेटेड नयाँ पोस्ट हेडलाइन

10/recent/ticker-posts

शैक्षिक भ्रमण | मिति २०८१-०२-३१ गते | दैलेख | विलासपुर बटुक भैरव | श्रीस्थान पाँच थान पंचकोशी | नाभिस्थान पाँच थान पंचकोशी | पादुकास्थान पञ्चकोशी क्षेत्र |

Print Friendly and PDF

श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय

भेरीगङ्गा नगरपालिका-६,सुर्खेत
कर्णाली प्रदेश नेपाल

शैक्षिक भ्रमण २०८१

  • पृष्ठभूमी :

विद्यार्थीको सिकाइलाई बढी उपलब्धिमूलक र प्रभावकारी बनाउन शिक्षण क्रियाकलापका क्रममा बिभिन्न शिक्षण बिधिहरु प्रयोग गरिनु आवश्यक हुन्छ । ती बिधिहरु मध्ये अन्वेषण र अवलोकन बिधि पनि एक प्रभावकारी बिधि हो । कक्षाकोठामा शिक्षकद्वारा भनेका कुराहरु सुनेर वा सैद्धान्तिक कुराहरु कण्ठस्थ पारेर मात्र सिकाइ प्रभावकारी नहुन सक्छ । तसर्थ विद्यार्थीहरुलाई विभिन्न पक्षहरुको बारेमा प्रत्यक्ष अवलोकन र अन्वेषण गराइ त्यसबाट आफैं सिक्ने र देखेर सिक्ने अवसर प्रदान गर्न शैक्षिक भ्रमण उपयुक्त बिधि हो । तर भ्रमणलाई प्रभावकारी बनाउन भ्रमण अवधिमा मात्र नभई त्यसको पूर्व तयारी र विद्यार्थी सहभागिताका सम्बन्धमा विद्यालयको तर्फबाट विशेष ध्यान र व्यवस्थापन गर्नु जरुरी हुन्छ । उचित व्यवस्था बिना भ्रमणलाई उपलब्धीपूर्ण र व्यवहारिक बनाउन सकिँदैन । तैपनि यसै सन्दर्भलाई लिएर यस विद्यालयले आधारभूत तहको कक्षा (६-८) मा अध्ययनरत सीमित विद्यार्थीहरुको लागि १ दिने शैक्षिक भ्रमण कार्यक्रमको आयोजना गरेको थियो । यसबाट सहभागी विद्यार्थीहरुले विभिन्न प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षका बारेमा प्रत्यक्ष साक्षात्कार गर्ने अवसरको रुपमा यसलाई उपयोग गरेका छन् । यसैसँग सम्बन्धित बिबिध पक्षलाई समेटेर यो प्रतिवेदन तयार गरिएको छ ।

  • भ्रमणका क्षेत्रहरु:

यस विद्यालयमा अध्ययनरत कक्षा (६-८) का विद्यार्थीहरुको शैक्षिक भ्रमणको मूख्य केन्द्रबिन्दु दैलेख | विलासपुर बटुक भैरव | श्रीस्थान पाँच थान पंचकोशी | नाभिस्थान पाँच थान पंचकोशी र पादुकास्थान पञ्चकोशी क्षेत्र |बनाइएको भए तापनि त्यस आसपासका अन्य क्षेत्रहरुको बिबिध पक्षहरुलाई समेत अध्ययन अवलोकनको विषयवस्तु बनाइएको थियो ।

  • भ्रमणका उद्देश्यहरु :

नेपाल धार्मिक सांस्कृतिक र प्राकृतिक दृष्टिले बिबिधतायुक्त मूलुक हो । यसै सन्दर्भमा ति बिबिधताहरुको बारेमा प्रत्यक्ष अवलोकन र जानकारी प्राप्त गर्नु भ्रमणको मुख्य उद्देश्य रहे तापनि समग्रमा भ्रमणका क्रममा निम्न उद्देश्यहरु पूरा प्राप्त हुने अपेक्षा गरिएको थियो ।
  • नमूनामा परेका क्षेत्रको प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक स्थितिको अवलोकन गर्नु ,
  • प्राचीन कला र संस्कृतिको बारेमा जानकारी प्राप्त गर्नु ,
  • बिबिध ऐतिहासिक तथ्यहरुको जानकारी लिनु ,
  • भौगोलिक बिबिधताको प्रत्यक्ष जानकारी लिनु ,
  • आफ्नो समूदाय र नमूनामा परेका सम्बन्धित क्षेत्रहरुको सामाजिक स्थिति र जीवनशैलीका बारेमा तुलना गर्नु ,
  • प्राकृतिक अवस्था र विकासका गतिबिधिहरुको बारेमा आफ्नो समूदाय र सम्बन्धित क्षेत्रका बीच भिन्नता पहिल्याउनु ,

  • भ्रमण गतिबिधि वा कक्रियाकलाप :

विद्यालयले तय गरेको शैक्षिक भ्रमणको कार्यक्रम १ दिनको समयाबधिका लागि थियो । २०८१/०२/३१ गते बिहान करिब ६ः०० बजे विद्यालयबाट ३८ जना विद्यार्थी ११ जना शिक्षक/शिक्षिका/कर्मचारी र अन्य र सवारी साधनका स्टाफ ४ जना सहित ५६ जनाको समूह भ्रमणका लागि प्रस्थान गरेको थियो । दैलेखको माथिल्लो डुंगेश्वर मा लगभग ११:३० बजेतिर सबैजनाले भात खाएर १ बजेतिर विलासपुर बटुक भैरव अवलोकन, २:३० बजेतिर श्रीस्थान पाँच थान पंचकोशी अवलोकन, ४ बजेतिर नाभिस्थान पाँच थान पंचकोशी अवलोकन, ५:०० बजेतिर पेट्रोलियम पदार्थ उत्खनन क्षेत्र अवलोकन र पादुकास्थान पञ्चकोशी क्षेत्र अवलोकन गर्न समयले साथ दिएन  र दैलेखको माथिल्लो डुंगेश्वर मा लगभग ७:०० बजेतिर नास्ता खाएर लगभग १२:३० बजे तिर सबैजना आफ्नो आफ्नो घर पुगेका थियौं | बाटोमा गाडीको टाएर पन्चर भएर केहि समय ढिला भएको थियो |

  • विलासपुर भैरव मन्दिर दैलेख :
विलासपुर भैरव मन्दिर दैलेख जिल्लाको एक प्रसिद्व मन्दिर हो। यो मन्दिर दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिका अन्तरगत पर्ने विलासपुर डाँडामा अवस्थित छ। यस मन्दिरको अर्को नाम विलासपुर बटुक भैरव पनि भनिन्छ। बाइसे राज्य कालका खस राजा विलासपुरे राजाहरूले कुल देवताको रूपमा पूजा गर्ने प्रचलनमा ल्याएको यो मन्दिरको निकै महत्त्व मानिन्छ।

  • मन्दिरको स्थापना :

विलासपुर मन्दिरको स्थापनाको बारेमा अहिले सम्म कुनै ठोस प्रमाण उपलब्ध हुन सकेको छैन। तर पनि स्थानिय जन श्रुती अनुसार यस मन्दिरको स्थापनाको बारेमा फरक फरक मत पाइएको छ।
    • विलासपुर राज्यका प्रथम नायक श्री वर्माले विलासपुर राज दरबार नजिकै वि. सं. १४७५ मा आफ्नो कुल देवताको रूपमा भैरवको अमूर्त आकृती सहित प्रस्तरको बटुक भैरव स्थापना गरेर पूजा गर्न सुरुवात गरेका थिए।
    • विलासपुर राज्यका अन्तिम राजा कर्ण शाहीकी रानीले आफ्नो माइती जुम्लाको सिंजाबाट ढलौटको भैरव मूर्ति ल्याएर यहाँ स्थापना गरेर पूजा गर्ने सुरुवात गरेकी थिइन्। सन्दर्भ विश्व के.सी. (पोखरेल) द्वारा लिखित कीर्तिखम्ब नामक पुस्तक पहिलो संस्करण पृष्ठ संख्या ११५ [१] मन्दिर नजिकै रहेको विलासपुर दरबारको भग्नावशेषहरू यत्र तत्र छरिएर रहेका आज पनि देखिन्छन्। विलासपुरे राजाले आफ्नो प्रभाव कायम राख्नको लागि दैवी शक्तिको उपासनाको आवश्यकता बमोजिम श्री वर्माले दरबार नजिकै मन्दिर स्थापना गरेर पूजाको सुरु गरेका र पछि गएर उनका सन्तान दरसन्तानले आफ्नो कुल देवताको रूपमा पूजा गर्दै गएको प्रसङ्ग सान्दर्भिक नै देखिन्छ। वर्तमान मन्दिरको निर्माण भने वि. सं. २०३८ सालमा गरिएको थियो। यसै तर्कको आधारमा यो मन्दिरको स्थापना पनि बेलासपुर राज्यको स्थापना अर्थात वि. सं. १४७५ को आसपासमा भएको मान्न सकिन्छ। हाल यो मन्दिरमा मन्दिरको प्राचिनतालाई चिनाउने कुनै अवशेषहरू बाँकी रहेका छैनन्।यहाँ रहेको सुनको छाता ओढाएको वटुक भैरवको मूर्ति र परम्परादेखी मन्दिरमा पूजा गरिदै आएको खड्क वि. सं. २०४४ मा हराएको थियो र आज सम्म पत्ता लागेको छैन। हाल मन्दिर भित्र पूजाको लागि नयाँ मूर्ति स्थापना गरिएको छ।

  • मुख्य पूजा :

मन्दिरमा प्रत्यक शनिबार र मङ्गलबारका दिन बोका र कुखुराको बलि सहित पूजा गर्ने प्रचलन रहेको छ। बडा दशैंको नवरात्रभर विशेष पूजा र अनुष्ठान गरिने भएकोले नवरात्रीको अष्टमी, नवमी र दशमीको दिन भक्तहरूको ठुलो घुईंचो लाग्ने गर्दछ। श्रद्धा पूर्व क पूजा अर्चना गर्नाले भक्तहरूको मनोकाङ्क्षा पूर्ण हुन्छ भन्ने विश्वास बोकेर दैलेख लगायत छिमेकी जिल्ला कालिकोट, जाजरकोट, अछाम लगायत विभिन्न जिल्लाबाट आउने भक्तजनहरूको ओइरो लाग्दछ।

  • मन्दिरको संरक्षण :

विलासपुर राज्यका अन्तिम राजा कर्ण शाहीका सन्तति स्थानिय निवासी भुपेन्द्र शाहीको अध्यक्षतामा विलासपुर मन्दिर क्षेत्र संरक्षण प्रवर्द्धन एवं व्यवस्थापन समिति गठन गरिएको छ। उक्त समितिले वि. सं. २०६६ सालमा नारायण नगरपालिकाको अनुदान र स्थानिय जनश्रमदान गरेर ३२६ वटा खुडकिला भएको बाटो र प्रवेश द्वार निर्माण गरेका थिए ।

  • दैलेख | विलासपुर बटुक भैरव भर्मनका केहि तस्विर हरु :














  • दैलेख | श्रीस्थान पाँच थान पंचकोशी:
श्रीस्थान पाँच थान पंचकोशी अंतर्गत पर्ने एक स्थान हो। यो स्थल दैलेख जिल्लामा पर्दछ। श्रीस्थानमा मन्दिर भित्र पानी माथी आगोको ज्वाला निरन्तर रूपमा बलिरहेको देखिन्छ। वैज्ञानिकहरूले यहाँ पेट्रोल ग्यासको खानी भएको सिद्ध गरेका छन् भने धार्मीक मान्यता अनुसार यो ज्वाला दैवीक शक्ती द्वारा देखिएको हो भन्ने भनाई रहेको छ। शिरस्थान मन्दिर गमौडी गा.वि.स. वडा नंवर ८ मा अवस्थित छ। सन्दर्भ स्थानिय जनश्रुती स्वस्थानी व्रता कथामा उल्लेख भए अनुसार महादेवले सतीको मृत शरिर बोकेर यत्रतत्र घुम्ने क्रममा यस ठाउँमा आइपुग्दा सतीदेवीको शिर पतन भएकोले यस ठाउँलाई शिरस्थान भनेर पूजा गर्न थालिएको हो भन्ने भनाइ रहेको छ। नाभी खोला अथवा रुद्रावती नदीको किनारामा अवस्थित यस स्थानमा ज्वालाघर, गाधीघर, काल भैरव मन्दिर, वटुक भैरव मन्दिर शिवलिंग रहेको छन्। ज्वालाघर भित्र निरंतर रूपमा बलिरहने आगोको ज्वालालाई शिवज्वाला अथवा वैश्वानर ज्वाला भनेर पूजा गरिन्छ। गाधीघरको माथिल्लो पट्टी काल भैरव मन्दिर रहेको छ। काल भैरव मन्दिरमा संधै सेतो पर्दा लगाइएको हुन्छ। काल भैरव मन्दिरमा पूजा गर्ने पूजारी बाहेक अरुलाई प्रवेश निषेध छ। काल भैरवमा बालब्रह्मचारीलाई मात्र पूजारी भएर पूजा गर्न पाउने प्रचलन छ। ज्वाला घरको पारी पट्टी नाभी खोलाको अर्को किनारामा अर्को ज्वाला मन्दिर रहेको छ। जसलाई कालज्वाला भनेर पूजा गरिन्छ। शिरस्थान मन्दिरमा नाथ सम्प्रादायका सन्यासीहरूले पूजारी भएर पूजाआजा गर्ने प्रचलन रहेको छ।
  • मुख्य पूजा
शिरस्थानमा ज्वालादेवीको दैनिक रूपमा पंचोपचार पद्धतीबाट पूजा गरिन्छ। हरेक वर्ष महा शिवरात्रीमा मुख्य पूजा गरिने भएकोले यहाँ ठुलो मेला लाग्दछ। मन्दिरको नजिकै रहेको छामघाट खोलाको किनारामा श्मसान घाट छ। पहिलेका दिनहरूमा उक्त श्मसान घाटमा लास न आएमा अनिष्ट हुन्छ भनेर कुशको शव बनाएर ज्वालाजीबाट अग्नी लगेर दाह संस्कार गरेर मात्र मन्दिरमा पूजा गर्ने प्रचलन रहेको थियो तर अब यो चलन हटी सकेको छ। संसारको कुनै पनि कुनामा मृत्यु भए पनि शिरस्थानको ज्वालाको अग्नीले दाह संस्कार गरेमा संसारबाट मुक्ती पाइन्छ भन्ने जन धारणा रहेको छ।
  • दैलेख | श्रीस्थान पाँच थान पंचकोशी ज्वाला भर्मनका केहि तस्विर हरु :


















  • दैलेख | नाभिस्थान पाँच थान पंचकोशी :
नाभिस्थान पाँच थान पंचकोशी अंतर्गत पर्ने एक स्थान हो। यो स्थल दैलेख जिल्लाको साविकको गमौडी गाविसमा पर्दछ। हाल यो स्थान भैरबी गाउँपालिका र दुल्लु नगरपालिकाको सिमानामा रहेको छ । नाभिस्थानमा मन्दिर भित्र पानी माथी इन्द्र ज्वाला र वडी ज्वाला नामका २ वटा आगोको ज्वालाहरू निरन्तर रूपमा बलिरहेका देखिन्छन्। वैज्ञानिकहरूले यहाँ पेट्रोल ग्यासको खानी भएको सिद्ध गरेका छन् भने धार्मीक मान्यता अनुसार यी ज्वालाहरू दैवीक शक्ती द्वारा देखिएका हुन् भन्ने भनाई रहेको छ। श्री स्वस्थानी ब्रतकथा अनुसार महादेवले सतिदेवीको मृत शरिर बोकेर यत्र तत्र घुम्ने क्रममा यस स्थानमा आइपुग्दा सति देवीको नाभी पतन भएकोले यस स्थानलाई नाभिस्थान भनेर पूजा गर्न थालिएको हो भन्ने स्थानिय जनश्रुती रहेको छ।
  • मन्दिर परिसर :
नाभिस्थानमा इँटा, काठ र माटोले बनेका तथा झिंगटीका छाना भएको दक्षिणाभिमुख दुइवटा सत्तल रहेका छन्। एउटा सत्तललाई कोठार (भण्डार) भनिन्छ भने अर्को सत्तललाई धर्मधुनी भनिन्छ। नाभिस्थान मन्दिर पनि दुईपाखे झिंगटीको छानो भएको, इँटा काठ र माटोले बनेको तथा पश्चिम तर्फ फर्केर रहेको छ। मन्दिरको गजुर पित्तलको रहेको छ। मन्दिरको प्रवेशद्वारमा प्रस्तरको गणेश मूर्ति रहेको छ। मन्दिरको ढोकाको खापा वि.सं. १९९७ मा तामाले मोढेको देखिन्छ। मन्दिर भित्र ज्वाला बलिरहेको छ। ज्वाला मन्दिरमा अनवरत रूपमा बलिरहने ज्वालाबाहेक अन्य मुर्तीहरू रहेका छैनन्। नाभिस्थान मन्दिर परिसरमा भैरव र गणेशको मन्दिरहरू पनि रहेका छन्। गादीघर मठमा सूर्य, विष्णु, इन्द्र र देवीहरूका मूर्तिहरू रहेका छन्। यस स्थानमा शिखरशैलीमा निर्माण भएका देवलहरूका भग्नावशेषहरू पनि रहेका छन्। मन्दिर नजिकै विश्वकै दुर्लभ भनेर चिनिने शमीको विशाल वृक्ष रहेको छ, जसलाई पञ्चकोशी तिर्थलस्थलको प्रतिकको रूपमा पनि मानिन्छ। यस मन्दिरमा नाथ सम्प्रादयका योगीहरूद्वारा पूजाआजा गरिन्छ। सन्दर्भ :कीर्तिखम्ब नामक पूस्तक पहिलो संस्करण पृष्ठ संख्या ९१-९२ पूस्तक लेखक विश्व के.सी. (पोखरेल)
  • अन्य मन्दिरहरू
    • नाभिस्थानको मन्दिरहरू:
नाभिस्थान मन्दिरको दक्षिण तर्फ उत्तराभिमुख भैरव मन्दिर छ। यो मन्दिर पनि इँटा र काठले बनेको छ भने यसको छाना पनि झिंगटीको रहेको छ। यस मन्दिर भित्र प्रस्तरको भैरव मूर्ति राखिएको छ। नाभिस्थान मन्दिरको पश्चिमतर्फ उत्तर फर्केको तथा ढुंगाले बनेको र खरको छाना भएको सानो शिव मन्दिर रहेको छ। त्यो मन्दिर भित्र गरुडासन लक्ष्मीनारायण मूर्ति तथा राजपुरुष मूर्ति उल्लेखनिय छन्। यहाँ ढुंगाको देवलको खण्डित भागहरू तथा कुँदिएका ढुंगाहरू जताततै देखिन्छन्। नाभिस्थान मन्दिर नजिकै पूर्वतिर फर्केको टायलको छाना भएको मन्सानाथ मन्दिर पनि छ। भैरव मन्दिरमा रहेको भैरवको मूर्तिलाई बैशाख र मङ्शिरको महिनामा डोकोमा राखेर मन्सानाथको रूपमा गाउँमा घुमाउने परम्परा रहेको छ। 
  • पूजा परम्परा :
नाभिस्थान मन्दिरमा बडा दशैंको कालरात्रीमा र चैते दशैंको नवरात्रीमा विशेष पूजा गरिन्छ। बालाचतुर्दशीमा सतबिज छर्ने गरिन्छ। यसै गरी स्वस्थानी व्रतको समाप्तीको दिनमा लिंगो ठड्याउने र महाशिवरात्रीको दिनमा ठुलो मेला लाग्ने गर्दछ। मन्दिरको पूर्वतर्फ रहेको नाभीखोलाको किनारमा श्मसानघाट रहेको छ। ज्वालाजीबाट अग्नी लगेर दाह संस्कार गर्ने प्रचलन रहेको छ। मन्दिर अगाडि २७ हात अग्ला दुईवटा लिंगाहरू भएकोमा प्रत्यक स्वस्थानीको स्याङ्गेमा पालै पालो फेर्ने गरिन्छ। यदी कुनै कराणवस ज्वालाहरू निभ्न गएमा धर्म धुनीघरको आगोले ज्वाला प्रज्वलित गरिन्छ।
  • दैलेख | नाभिस्थान पाँच थान पंचकोशी भर्मनका केहि तस्बिरहरु :





  • पादुकास्थान पञ्चकोशी :
पादुकास्थान पञ्चकोशी क्षेत्रमा पर्ने पाँच स्थान मध्यको एक स्थान हो। पौराणीक कथा अनुसार महादेव पत्नी सतिदेवीको पाउ पतन भएकाले पादुका नाम रहन गएको भनिने यो स्थल दैलेख जिल्लाको पादुका गा. वि. स.मा पर्दछ। यो स्थानमा भगवान विष्णुका पद चिन्हको छाप भएको शिला प्राप्त भएकोले यो स्थानलाई विष्णु पादुकाको नामले पनि चिनिन्छ। पहिले यहाँ शिरस्थान र नाभिस्थान जस्तै पानी माथी ज्वाला बलेको देखिन्थ्यो त्यसैले यहाँ एक ज्वालाघर रहेको छ। तर वि. सं. २०२८ मा पादुका खोलामा आएको बाढीले ज्वाला पुरेकाले अब ज्वाला देखिदैन। पादुका खोलाको किनारामा भएको मन्दिर सहित उक्त बाढीले बगाएर लगेकोले खोलै भरी शिलालेख, मुर्ती, खम्बा, देवलका भग्नावशेष आदी पुरातात्विक वस्तुहरू यत्र तत्र छरिएका छन्। कसै कसैले यस खोलाबाट मटितेल निकालेको पनि सुन्न पाईन्छ। योगी नरहरिनाथले आफ्नो अध्यायन पश्चात प्रकाशित गरेको इतिहास प्रकाशका अनुसार यहाँ १०८ भन्दा बढी देवलहरू रहेका थिए भन्ने अनुमान गरिएको छ।
  • मन्दिर क्षेत्र :
यहाँको मन्दिर क्षेत्रमा शिव, भैरव, गोरखनाथ, बुद्ध, जैन, लक्ष्मीनारायण, गणेश, मच्छेन्द्रनाथ, शिवलिंग अस्तव्यस्त अवस्थामा रहेको छन्। ज्वालाघरको गर्भगृहमा अग्नीकुंड रहेको छ। मन्दिर परिसरमा एक धर्मशाला रहेको छ। धर्मशाला पनि जिर्ण अवस्थामा रहेको छ। धर्मशाला नजिकैको रुखमुनी अनगिन्ती कलात्मक प्रस्तरहरू यत्रतत्र छरिएर रहेका छन्। अत्यन्त कलाकौशलका साथ कुंदिएका प्रस्तरहरू छरपट्ट अवस्थामा रहेका छन्। मन्दिर परिसरमा विश्वकै दुर्लभ भनेर चिनिने रुद्राक्षको रुख रहेका छन्। "पादुकास्थान खस साम्राज्यकालको प्रारम्भिक अध्यायनको लागि खुला सङ्ग्रहालय हो। यहाँ शाके संवत ११३६, ११६२ को अभिलेख र खस राजा अशोकचल्लकालिक सउन कार्की साउका कार्क्यानीले राखेको देवल स्तम्भ रहेको छ।[१]"
  • मुख्य पूजा :
    • पादुकास्थानमा रुखमुनी रहेका कलात्मक मुर्ती तथा प्रस्तरहरू
पादुकास्थान मन्दिरमा नाथ सम्प्रादयका महन्तहरूले नित्य पूजाआजा गर्ने प्रचलन रहेको छ। जेठ महिनाको पहिलो मंगलबार र बडादशैंको समयमा भैरव मन्दिरमा जिवबली दिएर पूजा आजा गर्ने प्रचलन रहेको छ। श्रावण महिनाको पुर्णिमाको दिनमा शिवजीलाई खिर चढाएर पूजा गरिन्छ। बडादशैंको घटस्थापनादेखी विजया दशमी सम्म अखण्ड धुनि जलाउने गरिन्छ। माघ महिनाको पुर्णिमाको दिनमा मन्दिरको अगाडि गाडेको पुरानो टाँगोलाई हटाएर नयाँ टाँगो फेर्ने चलन रहेको छ। शिवरात्रीको दिनमा यो मन्दिरमा विशेष पूजाआजा गर्ने प्रचलन रहेको छ। यहाँ रहेको पुरानो मन्दिर भत्केकोले त्यै ठाउँमा नयाँ मन्दिर बनाइएको थियो। वि. सं. २०४३ सालमा त्यो मन्दिर फेरी भत्केकोले २०४५ सालमा मन्दिरको पुन निर्माण गरिएको थियो। त्यो मन्दिर छाने शैलीमा बनेको थियो। त्यै मन्दिरलाई जिल्ला विकास समिति दैलेखको सहयोगमा २०६३ पुन मर्मत गर्ने कार्य भएको थियो। पादुका मन्दिर र गाधीघर बाहेक यहाँ रहेका शिलास्तम्भको बुद्ध, गोरखनाथ, भैरव, आदी महत्त्वपुर्ण रहेका छन्।
  • महत्त्व :
प्रस्तर, मुर्तिकला र वास्तुकलाका दृष्टीकोणले पादुकास्थानको स्थान महत्त्वपुर्ण रहेको छ। यस स्थानमा अझै पनि एक कलात्मक नाउली र धर्मशाला रहेको छ। मन्दिर परिसर ठुला ठुला पाषाणस्थम्भ, आमलक सहितका चक्र र घण्टाकार कुम्भहरूले भरिएको छ। यस स्थानमा एक जैन तिर्थंकार महावीरको शाके ११३६ को अभिलेख सहितको मुर्तिको विशेष महत्त्व रहेको छ। यस मुर्तिको उचाइँ ४ फीट ६ इन्च र चौडाइ २२ इन्च रहेको छ। प्रसन्न मुद्रामा रहेको जैनमुर्ती कार्योत्सर्ग भावमा कुँदिएको छ। मध्यकालको प्रारम्भदेखी नै पश्चिमी तिब्बतको गुंगे प्रान्त र कैलाश मानसरोवरबाट जुम्ला, दुल्लु र सुर्खेत हुँदै दक्षिण तर्फको व्यापारिक तथा तिर्थयात्रा मार्ग खुलेको थियो। यसै मार्गका कारण सार्थवाह, बौद्धभिक्षुहरू र तिब्बतीहरूका बीच सम्पर्क हुन थाले पछि ज्ञानप्रभको विशेष आग्रहमा विक्रमशिला महावीरका आचार्य दिपंकर श्रीज्ञान यही बाटो भएर तिब्बत पुगेका थिए। त्यस समयदेखी यस मार्गको महत्त्व अझ बढी भएको थियो। बाटोमा बौद्ध गुम्बा, वापी, विहारहरू निर्माण हुने क्रममा सार्थवाह र जैनहरूले पनि महत्त्वपूर्ण स्थानहरूमा तीर्थंकर मुर्तीहरू राख्ने क्रममा उत्क जैन मुर्ती स्थापना गरिएको थियो।
  • पादुकास्थानमा रहेका शिलालेखहरू
पादुका स्थान मन्दिर परिसरको विभिन्न ठाउँमा गरेर १२ वटा अभिलेख तथा शिलालेखहरू भेटिएका छन्। शिलालेखमा भएका अक्षरहरू जो कसैले पढ्न र बुझ्न कठिन छ। ति यस प्रकार रहेका छन्:-
    • जैनमुर्ती अभिलेख
    • देवल अभिलेख
    • अजितमल्लको अभिलेख
    • ज्वाला मन्दिरको तामापत्र
    • ज्वाला मन्दिरको अभिलेख
    • अर्जुन मल्ल मलै बम्मको धर्म पत्र
    • वीरखम्ब अभिलेख (१)
    • वीरखम्ब अभिलेख (२)
    • वीरखम्ब अभिलेख (३)
    • वीरखम्ब अभिलेख (४)
    • गुमटीघरको अभिलेख (१)
    • गुमटीघरको अभिलेख (२)
दैलेख । दैलेखको जिल्लाको भैरवी गाउँपालिका–१, जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौँ कामदार एवं प्राविधिक जुटेका छन् । उत्खननका क्रममा २१८ मिटर ड्रिलिङ भएको छ । ड्रिलिङ चार हजार पाँच सय मिटरसम्म गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले बताए ।

कामदार अहोरात्र खटेका र आलोपालो प्रणाली लागू गरेर काम भइरहेको जानकारी दिँदै उनले आगामी चार महिनाभित्र उत्खनन पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको बताए । चीन सरकारसँग २०७५ सालमा भएको सम्झौताअनुसार रु दुई अर्ब ५० करोड अनुदानमा अन्वेषण थालिएको हो ।
  • पेट्रोलियम पदार्थ उत्खनन क्षेत्र भर्मनका केहि तस्बिरहरु:



  • भ्रमण विश्लेषण :
१ दिनको यस भ्रमणको अवधिमा भए गराइएका त्रियाकलापहरुमा केही सकारात्मक र केही नकारात्मक दुवै पक्ष देखिए तापनि सकारात्मक पक्ष नै बढी रहेको अनुभुति भएको छ । भ्रमणका सिलसिलामा पाइएका सबल र दुर्बल पक्षहरु निम्नानुसार उल्लेख गर्न सकिन्छ ।
  • सबल पक्षहरु :
    • विद्यार्थीहरु अनुशासित र मर्यादित अवस्थामा सक्रिय रहनु ,
    • समूहका कुनै पनि व्यक्तिहरुबाट कुनै किसिमका असामान्य क्रियाकलाप नहुनु ,
    • भ्रमणमा सहभागी शिक्षक तथा विद्यार्थी बीचको सम्बन्ध सुमधुर रहनु,
    • भर्मनमा गरिएका गतिबिधि र समस्याहरुको सोही दिन विश्लेषण गरिनु,
    • भ्रमण स्थलमा त्यस सम्बन्धि बिबिध विषयमा विद्यार्थीहरुबाट सकारात्मक चासो दिनु,
    • सहभागी गाडी स्टाफ, शिक्षक शिक्षिका तथा अन्य अतिथीहरुबीच राम्रो समन्वय भइ सबैले उत्तीकै सक्रियता देखाउनु ।
    •  कतिपय स्थानहरुमा सम्बन्धित क्षेत्रका मानिसहरु मार्फत त्यहाँका बिबिध पक्षहरुको बारेमा जानकारी लिने अवसर मिल्नु ।
  • दुर्बल पक्षहरु :
    • भ्रमणको बारेमा पर्याप्त पूर्व तयारी हुने वातावरण तयार हुन नसक्नु ।
    • भ्रमणमा संलग्न शिक्षक कर्मचारीहरुका बीचमा शैक्षिक भ्रमणलाई प्रभाबकारी र बढी उपलब्धिमूलक बनाउने बारेमा पूर्व योजना बनाउने समय नहुनु ।
    • सम्बन्धित सबै विद्यार्थीहरु सहभागी हुन सक्ने वातावरण विद्यालयले बनाउन नसक्नु ।
    • विद्यालयबाट भ्रमणमा के, कसरी, कति, किन भ्रमण आयोजना गर्ने भन्ने बारेमा ठोस निर्णय र व्यवस्था नहुनु,
    • भ्रमण गतिबिधि र आर्जित ज्ञान तथा अनुभवका बारेमा समिक्षा र विश्लेषण हुने पर्याप्त समय र वातावरण हुन नसक्नु ,
  • निश्कर्ष र सुझाव :
भ्रमणका सबल र दुर्बल पक्ष दुबै रहे तापनि भ्रमणबाट विद्यार्थीमा सीमित मात्रामा भए पनि केही नंया ज्ञान तथा अनुभवहरु प्राप्त भएका देखिन्छन् । तर लक्षित सबै विद्यार्थी भ्रमणमा सहभागी हुन नसक्नुले ले शैक्षिक भ्रमणको औचत्यमाथी समेत प्रश्न उठाउन सकिन्छ ।  विद्यालयको तर्फबाट यस्तो प्रकारको शैक्षिक भ्रमणको यो दोर्सो अनुभव भए तापनि शैक्षिक भ्रमणका बारेमा खास कार्येलेले योजना निर्माण र व्यवस्थापनमा केही अन्योलता देखिनु स्वभाविक मान्नु पर्दछ । यो अवलोकन भ्रमणका गतिबिध यसका उपलब्धी आदिको बारेमा बिश्लेषण गरी प्राप्त निश्कर्षका आधारमा निम्नानुसारका सुझावहरु प्रस्तुत गर्न सकिन्छ ।
    • भ्रमणलाई शैक्षिक भ्रमणको रुपमा नै  लिन सबै विद्यार्थीहरुलाई सहहभागी कसरी गराउन सकिन्छ भन्ने विषयमा विद्यालयको तर्फबाट जिम्मेवारीपूर्वक सोचेर वार्षिक कार्ययोजनामा नै समावेश गरिनु पर्दछ ।
    • भ्रमणको उद्देश्य, के कति विद्यार्थी सहभागी गराउने, आर्थिक व्यवस्थापन कसरी गर्ने, जिम्मेवारी कसलाई हुने आदि सम्बन्धमा व्यापक छलफल गरी पूर्व तयारी गर्नु पर्दछ ।
    • भ्रमणका क्षेत्रहरुको प्रमुख बिशेषता र त्यसको महत्वका बारेमा पूर्व जानकारी र सूचना शिक्षक तथा कर्मचारीलाई हुनु राम्रो हुन्छ । अन्यथा अध्ययन क्षेत्रका जानकारहरुलाई स्रोतव्यक्तिका रुपमा सहभागि गराउनु उपयुक्त हुन्छ ।
    • भ्रमणमा संलग्न हुने शिक्षक तथा विद्यार्थीहरुका लागि आचार सहिंता भ्रमण पूर्व नै तयार गर्ने वातावरण हुनु पर्दछ ।
२०८१-जेठ-३१
प्रस्तोता/प्रतिवेदक : शिक्षक, झलक वली 
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, घारिबन 
भेरिगंगा नगरपालिका -६ कर्णाली प्रदेश , नेपाल

Post a Comment

0 Comments