F
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय,घारिवन

अपडेटेड नयाँ पोस्ट हेडलाइन

10/recent/ticker-posts

पाठ्यक्रमको परिचय, अवधारणा, उद्देश्य, क्षेत्र र क्रम - शिक्षक सेवा आयोग

Print Friendly and PDF

 

पाठ्यक्रम र पाठ्यपुस्तक - शिक्षक सेवा आयोग तयारी
पाठ्यक्रम र पाठ्यपुस्तक - शिक्षक सेवा आयोग तयारी
Table of Contents (विषयसूचीहरु)
  1. पाठ्यक्रम र पाठ्यपुस्तक
    1. पाठ्यक्रमको परिचय, अवधारणा, उद्देश्य, क्षेत्र र क्रम
    2. पाठ्यक्रमको शाब्दिक अर्थ
    3. पाठ्यक्रमको संकुचित अर्थ
    4. पाठ्यक्रमको व्यापक अर्थ
    5. बिभिन्न बिद्वान्, शिक्षाविद्, सङ्घसंस्था तथा आयोगले दिएका केही परिभाषाहरू
    6. पाठ्यक्रमको उद्देश्य
      1. साधारण उद्देश्य
      2. विशिष्ट उद्देश्य
    7. पाठ्यक्रमका तत्वहरू
      1. उद्देश्यहरू
      2. विषयसूचीः
      3. शिक्षणसिकाइ क्रियाकलाप विधिहरू:
      4. मूल्याङ्कन:
    8. पाठ्यक्रम निर्माण गर्दा उपलब्ध ज्ञानको स्रोतको प्रयोगका पक्षहरू
    9. पाठ्यक्रम विकासमा प्रभाव पार्ने तत्त्वहरू

पाठ्यक्रम र पाठ्यपुस्तक

पाठ्यक्रमको परिचय, अवधारणा, उद्देश्य, क्षेत्र र क्रम

- पाठ्यक्रमको अवधारणाको प्रयोग सन् १९१८ मा वोविट्स (Bobbits) ले गरेका थिए । त्यस्तै सन् १९७२ मा लेविस एन्ड मील (Lewis and Miel) ले पाठ्यक्रमको बारेमा लेखरचनाहरु प्रकाशनमा ल्याए तापनि २० औं शताब्दीमा मात्र पाठ्यक्रमको अवधारणाको विकास र विस्तार प्रभावकारी रुपमा भएको पाइन्छ ।
- परम्परागत धारणाअनुसार विद्यार्थीले कक्षाकोठाभित्र सिक्ने विषयको स्वरूप वा विद्यार्थीको चौतर्फी विकासका लागि चाहिने सबै अनुभवहरूलाई पाठ्यक्रम भनिन्छ ।
- बालकलाई सिकाइने विषयबाट ल्याउन खोजिएको परिवर्तन, त्यसका उद्देश्य, उद्देश्य पूरा गर्नका लागि उनीहरूलाई दिइने अनुभव, शिक्षण विधि र उद्देश्य पूरा भए/भएनन् भनी गरिने मूल्याङ्कन पाठ्यक्रमअन्तर्गत नै पर्दछन् ।
- विद्यार्थीको रुचि, आवश्यकता र क्षमताअनुसार ज्ञान, सीप र व्यवहार सिकाइ शैक्षिक कार्यक्रमलाई व्यवस्थित र योजनाबद्ध ढङ्गले सञ्चालन गरी तोकिएका उद्देश्य पूरा गर्नका लागि बनाइएको विस्तृत योजना पनि पाठ्यक्रम हो ।
- "पाठ्यक्रम भनेको विद्यार्थीलाई ज्ञान, सीप र व्यवहार सिकाउने उद्देश्य, विषय, विधि र मूल्याङ्कनका तरिका तोकेर तयार पारिएको व्यवस्थित योजना हो।"

पाठ्यक्रमको शाब्दिक अर्थ

- पाठ्यक्रम अंग्रेजी भाषाको 'Curriculum' को रुपान्तरण हो । Curriculum ल्याटिन भाषाको 'Currere' बाट बनेको हो जसको अर्थ धावन मार्ग भन्ने हुन्छ । यस दृष्टिले पाठ्यक्रमको अर्थ विद्यार्थीले आफ्नो लक्ष्य प्राप्तिका लागि अघि बढ्ने बाटो भन्ने हुन्छ ।
- पाठ्यक्रमको शाब्दिक अर्थलाई दृष्टिगत गरी रोवर्ट रिच (Robert Wrich) लेख्दछन् - "Curriculum is a runway or course on which one runs to reach a goal."

पाठ्यक्रमको संकुचित अर्थ

- पाठ्यक्रमलाई पाठ्यपुस्तकका सूचीका रुपमा लिइनु संकुचित अर्थ हो ।
-"एक शैक्षिक सत्रभरिमा शिक्षकले पढाउने विषयवस्तु वा पाठ्यांशलाई पाठ्यक्रम भनिन्छ ।
- पाठ्यक्रमको संकुचित अवधारणालाई दृष्टिगत गरी Hair R Dougles भन्छन् - "Curriculum is a systematic arrangement of a number of courses into a unit group for a particular group of people."
- विषयवस्तुको क्रमबद्ध र व्यवस्थित सूचीलाई पाठ्यक्रम भन्नु पाठ्यक्रमको संकुचित अर्थ हो ।

पाठ्यक्रमको व्यापक अर्थ

- बालकको सर्वाङ्गीण विकासका लागि आवश्यक पर्ने ज्ञान, सीप र अनुभवको विस्तृत योजना नै पाठ्यक्रम हो । यसमा वास्तविक जीवन र सिकेका अनुभवबीच सामञ्जस्य ल्याउन विषयवस्तुलाई प्रभाव पार्ने सामाजिक, सांस्कृतिक, दार्शनिक पक्ष, शिक्षण विधि र मूल्याङ्कन प्रक्रिया समेत उल्लेख गरिएको हुन्छ ।
- विद्यार्थीको ज्ञान, सीप र अनुभवसँग पाठ्यक्रमलाई सम्बन्धित देखाउनु व्यापक अर्थ हो । तसर्थ पाठ्यक्रमलाई शैक्षिक गतिविधिको मेरुदण्डको रुपमा लिन सकिन्छ ।
- व्यापक तथा विस्तृत अर्थको रुपमा सिकारुको सैद्धान्तिक, व्यवहारिक तथा वैज्ञानिक ज्ञान, सीप र अभिवृत्तिको विकासका लागि गरिने संगठित एवं व्यवस्थित शैक्षिक कार्यक्रमलाई पाठ्यक्रम भनिन्छ । पाठ्यक्रमको व्यापक अर्थको व्याख्या गर्न तलको तालिका प्रयोग गर्न सकिन्छ :
Scopes of Curriculum
- दिइएको चित्रमा मानिसको जीवनदर्शन, समाजको आवश्यकता र सिकाइ मनोविज्ञान तथा बालमनोविज्ञानको प्रभाव पाठ्यक्रममा पर्ने कुरा देखाइएको छ ।
- पाठ्यक्रममा शिक्षक, विद्यार्थी, विषयवस्तु र शिक्षण विधिका बीचको सम्बन्ध र अन्तक्रियालाई व्याख्या गरी विषयलाई विद्यार्थीसमक्ष पुयाउने माध्यम, विधि र मूल्याङ्कनका तरिका उल्लेख गरिएको हुन्छ ।
पाठ्यक्रममा शिक्षणसिकाइको व्यापक परिवेश समेटी बालकको सर्वाङ्गीण विकासका लागि आवश्यक ज्ञान र अनुभवको सङ्गठन, प्रभावकारी शिक्षण, सिकाइ उपलब्धिको मूल्याङ्कनजस्ता कुरा समेटी परिभाषित गरिन्छ भने त्यसलाई पाठ्यक्रमको व्यापक अर्थ भनिन्छ ।

बिभिन्न बिद्वान्, शिक्षाविद्, सङ्घसंस्था तथा आयोगले दिएका केही परिभाषाहरू

"शिक्षाका लक्ष्यहरू पूरा गर्न विद्यालयले गर्ने सम्पूर्ण क्रियाकलापहरू पाठ्यक्रममा समावेश गरिएका हुन्छन् ।" - मुन्रो
"एउटा स्टुडियो (विद्यालय) मा एउटा कलाकार (शिक्षक) ले आफ्ना सामग्रीहरु (विद्यार्थी) लाई आफ्नो आदर्श (उद्देश्य) अनुरुप तयार गर्नका लागि प्रयोग गरिने ज्यावल नै पाठ्यक्रम हो ।" - कनिङघम (Cunningham)
"शिक्षाका उद्देश्यहरू प्राप्तिका लागि विद्यालय तथा शिक्षकद्वारा विद्यार्थीका लागि तयार गरेको योजना र निर्देशन अनुसारको सम्पूर्ण अनुभवहरूलाई पाठ्यक्रम भन्दछन् ।” - युनेस्को
"मानवजातिको सम्पूर्ण ज्ञान र अनुभवको उच्चतम विन्दुलाई नै पाठ्यक्रम मान्नुपर्छ ।" - फ्रोबेल
मानवले हासिल गर्ने सैद्धान्तिक र व्यावहारिक ज्ञान र अनुभवको चरम बिन्दुसम्मको अभ्यास गर्ने योजनालाई पाठ्यक्रम भनिन्छ ।
“पाठ्यक्रम भनेको शिक्षाको लक्ष्य हासिल गर्नका लागि बनाइएको शैक्षिक कार्यक्रम हो।" - रा.शि.प.यो. २०२८
"पाठ्यक्रम सिकाइको योजना हो।" (A curriculum is a plan for learning) - हिल्डा टावा
"पाठ्यक्रमअन्तर्गत विद्यालयद्वारा योजनाबद्ध र निर्देशित सबै सिकाइहरू पर्दछन्, जुन विद्यालयभित्र वा बाहिर व्यक्तिगत एवम् सामूहिक रूपमा सञ्चालन गरिएका हुन्छन् ।”
"विद्यालयभित्र वा बाहिर व्यक्तिगत वा सामूहिक रूपमा सञ्चालन गरिने निर्देशन र योजनाबद्ध शैक्षिक क्रियाकलापलाई पाठ्यक्रम मानिएको छ। सिकाइको यो प्रक्रिया जीवनपर्यन्त चलिरहने भएकाले पाठ्यक्रमले जीवनभर सिक्ने कुरालाई समेट्छ तर त्यो सिकाइ योजनाबद्ध र निर्देशित हुनुपर्छ । - जे.एफ. केर
पाठ्यक्रम भन्नाले उद्देश्य, लक्ष्य, विषयसूची, प्रक्रिया, स्रोत, मूल्यांकनका साधन आदिको बोध हुन्छ जसलाई विद्यालयभित्र, बाहिर, कक्षाकोठाको शिक्षण तथा सम्बन्धित कार्यक्रमद्वारा पूरा गर्न योजनाबद्ध रुपले लागू गरिएको हुन्छ । - सी.भी. गुड (C.V. Good)
"विद्यालयको भित्री र बाहिरी अवस्थामा अपेक्षित उपलब्धिहरु प्राप्त गर्न गरिने सम्पूर्ण प्रयासलाई नै पाठ्यक्रम भनिन्छ ।" - सेलर एन्ड अलेक्जेन्डर (Saylor and Alexander)
पाठ्यक्रम विद्यालयको निर्देशनमा विद्यार्थीहरुले प्राप्त गर्ने सम्पूर्ण अनुभवहरुबाट निर्मित भएको हुन्छ । पाठ्यक्रम सिकाइ अनुभवको योजना हो । - क्यासवेल र क्याम्पबेल
विद्यालय अन्तर्गत सिकारुहरूले प्राप्त गर्ने सम्पूर्ण अनुभवलाई पाठ्यक्रमको रुपमा लिइन्छ । - रोनाल्ड डल (Ronald Doll)
पाठ्यक्रम भनेको पाठ्यसूचीहरुको एउटा संगठित योजना र क्रियाकलापहरुको प्राप्तिमा प्रयोग गरिने उद्देश्यहरु र सिकाइ अनुभवहरु हुन् । - अरविन्दा चन्द्र (Arvinda Chandra)
विद्यालयको निर्देशनभित्र रही सिकारुले प्राप्त गर्ने सम्पूर्ण अनुभवहरु पाठ्यक्रम भित्र समावेश हुन्छन् । - मोसे
पाठ्यक्रम भन्नाले उद्देश्य, लक्ष्य, विषयवस्तु, प्रक्रिया, स्रोत, मूल्यांकनको साधन आदि भन्ने बुझिन्छ । - शिक्षा शब्दकोश
शैक्षिक उद्देश्य प्राप्तिका निमित्त योजनाबद्ध रुपमा विद्यालयहरुबाट निर्दिष्ट भई सिकेका सबै प्रकारका अनुभवहरु नै पाठ्यक्रम हो । - टायलर (Tyler)
शैक्षिक कार्यक्रमहरु पूरा गर्न विकासात्मक, सन्देशात्मक, सामाजिक, आध्यात्मिक र नैतिक साधनका रुपमा विद्यालय भित्र र बाहिर हुने सिकाईका अनुभवहरु समावेश गरिएको कार्यक्रम नै पाठ्यक्रम हो । - क्रो एन्ड को (Crow and Crow)

पाठ्यक्रमको उद्देश्य

- शिक्षणसिकाइ पश्चात् विद्यार्थीहरुमा विकास गरिनुपर्ने ज्ञान, सीप, धारणाहरुसम्बन्धी अपेक्षित प्रतिफल वा परिवर्तनलाई उद्देश्य भनिन्छ । अर्थात् शैक्षणिक क्रियाकलापको अन्त्यमा अपेक्षा गरिएको प्रतिफललाई नै उद्देश्य सक्षमता भनिन्छ ।
- शैक्षणिक कियाकलापको अन्तमा आशा गरिने प्रतिफललाई उद्देश्यका रूपमा प्रस्तुत गरिएको हुन्छ । पाठ्यक्रममा निर्धारित उद्देश्यका आधारमा शैक्षणिक कियाकलाप हुने भएकाले यसलाई शैक्षिक कियाकलाप कार्यक्रमको प्रारम्भिक बिन्दु भनिन्छ । पाठ्यक्रममा सम्बन्धित विषयका उद्देश्यहरूलाई मूलतः साधारण र विशिष्ट उद्देश्य गरी दुई प्रकारमा प्रस्तुत गरिएको हुन्छ ।

साधारण उद्देश्य

साधारण उद्देश्यहरू ज्ञान, सीप प्राप्त गर्ने उद्देश्य हुन र यस्ता साधारण उद्देश्यमा विशेष पक्ष किटान गरिएको हुँदैन । कुनै
विषयको अन्त्यमा प्राप्त हुने शैक्षिक उपलब्धि/उद्देश्यहरुलाई साधारण उद्देश्य भनिन्छ । साधारण उद्देश्यलाई लामो समयको अन्तराल पश्चात् वृहत रुपमा प्राप्त हुने उद्देश्यको रुपमा लिइन्छ। साधारण उद्देश्यको मापन गर्न सकिदैन ।

विशिष्ट उद्देश्य

विशिष्ट उद्देश्य भनेका मापन र अवलोकन गर्न सकिने उद्देश्यहरू हुन् । यो-यो यस्ता यस्ता ज्ञान, सीप प्राप्त गर्न सक्नेछन् भनेर स्पष्ट रूपमा किटान गरिएका उद्देश्य विशिष्ट उद्देश्य हुन् । कुनै पाठ वा पाठ्यवस्तुको वा शिक्षणसिकाइको अन्त्यमा प्राप्त हुने व्यवहारिक उद्देश्यलाई विशिष्ट उद्देश्य भनिन्छ । विशिष्ट उद्देश्यहरु मापन गर्न सकिने हुन्छन् ।
- शिक्षाका राष्ट्रिय उद्देश्य, तहगत उद्देश्य कक्षागत उद्देश्य र विषयगत उद्देश्य पूरा गराउन पाठ्यक्रमका उद्देश्यले सघाउनु पर्छ ।
- पाठ्यक्रमका उद्देश्यले नै शिक्षक तथा विद्यार्थीका क्रियाकलापहरलाई नियन्त्रण र व्यवस्थित गर्दछ । हरेक शिक्षकले आफुले शिक्षण गर्ने विषयका विषयगत उद्देश्यहरूका वारेमा विशेष ख्याल गर्नु पर्दछ ।
- पाठ्यक्रममा निर्धारित उद्देश्यले बालकको ज्ञान, सीप र धारणा, तिनले गर्ने परिवर्तन, तिनको सान्दर्भिकता र उपयुक्तता तथा शैक्षिक क्रियाकलापको उपलब्धिका बारेमा सङ्केत गरेको हुन्छ ।
- "उद्देश्यको ज्ञानविनाको शिक्षक आफू पुग्ने स्थान थाहा नभएको एउटा माझी जस्तै हो भने, विद्यार्थीचाहिँ समुद्री छालले जुनसुकै किनारामा बगाउने एक बहानाविहीन डुगा जस्तै हो ।" - बी.डी. भाटिया (B.D. Bhatia)
पाठ्यक्रमको क्षेत्र तथा क्रम
पाठ्यक्रमको क्षेत्र (Scope) भन्नाले विद्यार्थीको तह, रुचि र सक्षमताअनुसार तय गरिएको शैक्षिक विषयवस्तुको दायरा हो । विषयक्षेत्र भन्नाले पाठ्यक्रम वा यसको कुनै अङ्गले समेट्ने सम्पूर्ण तथ्य एवं क्रियाकलापको अनुभवको विस्तार र किसिम भन्ने बुझ्नुपर्दछ । विद्यार्थीको तह, कक्षा, स्तर, उमेर, शैक्षिक उद्देश्य आदि पाठ्यक्रमको क्षेत्र निर्धारणको मूल आधार हो ।
पाठ्यक्रमको क्रम भन्नाले विद्यार्थीहरूलाई दिइने शैक्षिक अनुभव तथा शिक्षणसिकाइका लागि छनोट गरिएका विषयवस्तुहरूको सिलसिला तथा सङ्गठनात्मक क्रम हो । अर्थात् शिक्षण सिकाइका लागि छानिएका विषयवस्तुको क्रमब सङ्गठन नै क्रम (Sequence) हो ।
पाठ्यक्रममा विषयवस्तुको क्षेत्रको छनोट भइसकेपछि सिकाइका सूत्रहरूको आधारमा विषयवस्तुलाई सरलबाट जटिलतर्फ, पूर्णबाट अंशतर्फ, ज्ञातबाट अज्ञाततर्फ, मूर्तबाट अमूर्ततर्फ सङ्गठित गरिएको हुन्छ । त्यस्तै पूर्वज्ञान सिकाइ, विषयवस्तुको गहनतालाई क्रम मिलाएर पाठ्यक्रममा विषयवस्तु तथा सिकाइअनुभवहरू सङ्गठित गरिएका हुन्छन् । यसरी पाठ्यक्रममा निर्धारित र निर्देशित विषयवस्तु एवम सिकाइ अनुभवहरू सङ्गठन गरिएको हुन्छ । साथै विषयवस्तुको क्षेत्र र क्रम एवम् विस्तृतीकरणसमेत दिएको हुन्छ । विषयवस्तुको क्षेत्र र क्रम तथा विस्तृतीकरणले सम्बन्धित विषयको विषयगत आधारभूत ज्ञानको सूची अवगत गराउँछ ।

पाठ्यक्रमका तत्वहरू

पाठ्यक्रमभित्र समावेश गरिएका विभिन्न पक्षहरूलाई पाठ्यक्रमका तत्त्व भनिन्छ । पाठ्यक्रमका तत्त्वमा विद्यालयले प्राप्त गर्न कोशिस गर्ने उद्देश्यहरू, उद्देश्य हासिल गर्न प्रदान गरिने अनुभवहरू, अनुभवलाई प्रभावकारी बनाउन गरिने सङ्गठन र उद्देश्यपूर्तिका लागि गरिने मूल्याङ्कन समेटिन्छन् । यस आधारमा पाठ्यक्रमका निम्नलिखित चार तत्त्व निर्धारण गरिएका छन् :

उद्देश्यहरू

शिक्षाका तहगत र कक्षागत उद्देश्यका आधारमा शैक्षिक योजना, क्रियाकलाप वा कार्यक्रम तयार पारिने हुँदा उद्देश्यकै आधारमा पाठ्यक्रमका अन्य तत्त्वहरू निर्माण हुन्छन् । त्यसैले उद्देश्य पाठ्यक्रमको सबैभन्दा महत्त्वपूर्ण तत्त्व हो । विद्यार्थीको रचि, आवश्यकता र क्षमताका आधारमा तहगत र कक्षागत उद्देश्य तयार पारिन्छ । विषयगत उद्देश्य तयार पारेपछि प्रत्येक कक्षामा त्यस विषयका लागि विषयवस्तु, शिक्षणविधि र मूल्याङ्कन प्रक्रिया निर्धारण गरिन्छ ।
पाठ्यक्रममा निर्धारित उद्देश्यले बालकको ज्ञान, सीप र धारणा, तिनले गर्ने परिवर्तन, तिनको सान्दर्भिकता र उपयुक्तता तथा शैक्षिक क्रियाकलापको उपलब्धिका बारेमा सङ्केत गरेको हुन्छ । उद्देश्यका आधारमा शैक्षणिक क्रियाकलाप हुने भएकाले यसलाई शैक्षिक क्रियाकलाप वा कार्यक्रमको प्रारम्भिक विन्दु मानिन्छ । उद्देश्यले कार्यक्रम सञ्चालनका लागि निर्देशन दिनुका साथै शिक्षक तथा विद्यार्थीका क्रियाकलापलाई नियन्त्रित र व्यवस्थित गर्छ । यसले शैक्षणिक क्रियाकलाप र शैक्षिक अन्तक्रिया गर्न प्रेरणा प्रदान गरी शिक्षण क्रियाकलापको प्रभावकारिताको मूल्याङ्कन गर्न सहयोग गर्दछ । पाठ्यक्रममा उद्देश्य तयार गर्नुअघि आवश्यकताको निदान गर्नुपर्छ । पाट्यक्रमको निर्माण गर्दा समाजको आवश्यकता, विद्यार्थीको मानसिक स्तर, अभिरुचि, क्षमता, आवश्यक उत्पादित जनशक्ति र समाजले राखेको अपेक्षाको बारेमा ध्यान पुर्‍याउनुपर्छ ।

विषयसूचीः

विद्यार्थीलाई दिइने ज्ञान, सीप र धारणाअनुरूपका विषयवस्तुको छनोटलाई विषयसूची भनिन्छ । पाठ्यक्रममा तयार पारिएका उद्देश्यका आधारमा विषयवस्तुको गहनता वा व्यापकताको छनोट गरी तिनको स्थानान्तरणका लागि उचित सङ्गठन पनि गरिन्छ । यस अर्थमा विद्यालयमा पढाइने विषयहरूको ज्ञान, सीप र धारणालाई सामञ्जस्यपूर्ण ढङ्गले प्रस्तुत गर्न तयार पारिएको विषयवस्तुलाई नै पाठ्यक्रम भनिन्छ । पाठ्यक्रमको उद्देश्यअनुरूप राष्ट्रले चाहेअनुसारको शैक्षिक जनशक्ति तयार नै पार्न शिक्षणसिकाइ गरी विद्यार्थीको व्यवहारमा परिवर्तन ल्याउने तत्त्व पनि विषयवस्तु वा विषयसूची नै हो ।
विषयसूचीमा विषयवस्तु र सिकाइ अनुभव समावेश गर्ने कुरामा शिक्षाशास्त्रीहरुबीच एकमत पाइँदैन । मानिसको शिक्षाप्रतिको सोचाइ, जनजीवनमा आएको परिवर्तन, विभिन्न ज्ञानको क्षेत्रमा आएको परिवर्तन, शैक्षिक प्रविधिको विकास, सामाजिक सांस्कृतिक परिवर्तन, औद्योगिकीकरण, सञ्चारको विकास, खोजअनुसन्धान, प्रजातान्त्रिक अभ्यास र विश्व परिस्थितिले पार्ने प्रभाव आदिका आधारमा पाठ्यक्रममा समयानुकूल विषयवस्तु समावेश गरिन्छन् ।
पाठ्यक्रममा विषयवस्तु छनोट गर्दा सम्बन्धित तह, कक्षा, विषयवस्तुको प्रकृति तथा सिकाइ उपलब्धिलाई आधार मानी छनोट गरेमा विषयवस्तु समस्यारहित, वस्तुपरक र व्यावहारिक हुन सक्छ । विषयवस्तुको छनोटमा विद्यार्थीको उमेर, क्षमता, स्वभाव, तल्लो तह र माथिल्लो तहबीच सामञ्जस्य, समाजको आवश्यकता र विद्यार्थीको अभिरुचिलाई पनि हेरिनुपर्छ । तहगत उद्देश्यका आधारमा सिकाइ उपलब्धि निर्धारण गरी विषयवस्तुको छनोट र सङ्गठन गर्नु राम्रो मानिन्छ ।
विषयवस्तुको क्षेत्र व्यापक हुने भएकाले कुन तहमा कति विषय समावेश गर्ने भन्ने कुरा विद्यार्थीको रुचि, क्षमता, स्तर, पूर्वज्ञान तथा पछिल्लो कक्षामा पढ्नुपर्ने विषयवस्तुका आधारमा निर्धारित हुन्छ । विषयको प्रकृतिका आधारमा पाठ्यवस्तुको गहनता वा व्यापकता छनोट गरी पाठ्यपुस्तकको क्षेत्र तथा क्रम निर्धारण गरिन्छ । पाठ्यक्रममा छानिने विषयवस्तु सामाजिक यथार्थअनुकूल, विद्यार्थीको आवश्यकता र रुचिअनुकूल र प्रभावकारी हुनुपर्छ ।

शिक्षणसिकाइ क्रियाकलाप विधिहरू:

उद्देश्यअनुसारका विषयवस्तु छनोट गरेपछि त्यसको प्रस्तुतीकरण गर्ने माध्यमलाई विधि भनिन्छ । प्रभावकारी ढङ्गबाट विषयवस्तु प्रस्तुत गर्न शिक्षक, विद्यार्थी, पाठ्यवस्तु तथा शैक्षिक सामग्रीको योजनाबद्ध र नियन्त्रित सम्बन्धबाट शिक्षणविधि चयन गरिन्छ । विषयवस्तुअनुसार शिक्षक वा विद्यार्थीलाई सक्रिय बनाई निर्धारित सिकाइ उपलब्धि हासिल गराउने माध्यम पनि शिक्षण विधि नै हो ।
शिक्षण विधि शिक्षणसिकाइ योजनाको महत्त्वपूर्ण अङ्ग भएकाले उपयुक्त शिक्षण विधिको छनोटबाट मात्र पाठ्यक्रमको उद्देश्य पूरा हुन सक्छ । शिक्षण विधि कक्षाको स्तर तथा विषयवस्तुको प्रकृतिका आधारमा चयन गरिने हुँदा साना कक्षाका लागि ठोस र वास्तविक जीवनसँग मेल खाने विषय र ठूला कक्षाका लागि शिक्षक केन्द्रित विधि प्रयोग गर्न सकिन्छ । सबै विषयका लागि एउटै विधि उपयुक्त नहुने हुँदा पाठ्यक्रममा कुन विषयका लागि कुन विधि र कुन शैक्षिक सामग्री प्रयोग गर्ने भन्ने कुरा उल्लेख गरिएको हुन्छ । सबै विद्यार्थीका लागि पनि एउटै विधि उपयुक्त हुने हुँदा विद्यार्थीको वैयक्तिक भिनताका आधारमा पनि विधि चयन गर्नुपर्दछ । शिक्षकको अध्यापन, कौशल, विद्यालयको भौतिक सुविधा, शैक्षिक वातावरण र विद्यार्थीको सिकाइप्रतिको तत्परताको आधारमा शिक्षणविधि चयन गरिन्छ । विद्यार्थीको उमेर, परिपक्वता, क्षमता, पूर्व अनुभव, पाठप्रतिको आकर्षण, विषयवस्तुको सरलता, जटिलता, कठिनाइ स्तर, उपलब्ध समय, सैद्धान्तिक एवम् व्यावसायिक पाठ्यवस्तु आदि शिक्षणविधि बनोटमा प्रभाव पार्ने तत्व हुन् । शिक्षणविधिको प्रभावकारिता कक्षागत अन्तरक्रियामा निर्भर रहने हुँदा सही र सफल विधिको प्रयोगबाट मात्र शिक्षण प्रभावकारी हुन्छ ।

मूल्याङ्कन:

शैक्षिक कार्यक्रमको समाप्तिपछि उद्देश्य पूरा भए नभएको लेखाजोखा गर्न गरिने कार्य मूल्याङ्कन हो । कुनै तहका विद्यार्थीले प्राप्त गर्नुपर्ने ज्ञान, सीप, धारणा प्राप्त भयो या भएन भन्ने कुरा मूल्याङ्कनपछि मात्र थाहा हुन्छ । औपचारिक शिक्षामा मूल्याङ्कनबाट कक्षोन्नति पनि गरिन्छ । मूल्याङ्कनबाट शैक्षिक प्रक्रियाका कमीकमजोरी पत्ता लाग्ने हुँदा आवश्यक सुधार गर्न पनि मद्दत मिल्दछ ।
मूल्याङ्कन विभिन्न प्रकारका हुन्छन् । पठनपाठन सँगसँगै विद्यार्थीको मूल्याकन गरी आवश्यक सुधार गरिन्छ भने त्यसलाई निर्माणात्मक मूल्याङ्कन भनिन्छ । यसमा अवलोकन, अभिलेख निर्माण, अनौपचारिक छलफल, अभिभावकसँग छलफलजस्ता उपाय अपनाइन्छ र शैक्षिक सामग्री र शिक्षण क्रियाकलापका कमीकमजोरी हटाउन आवश्यक सुधार गरिन्छ ।
शैक्षिक सत्रका अन्त्यमा कक्षोन्नती गर्न लिइने परीक्षालाई निर्णयात्मक मूल्याङ्कन भनिन्छ । यसमा विद्यार्थीले आफ्ना कमी कमजोरी सुधार्ने मौका पाउँदैनन् । लिखित परीक्षा, मौखिक परीक्षा, अवलोकन, व्यक्तिगत विवरण, अन्तर्वार्ता आदिका माध्यमले विद्यार्थीको निर्माणात्मक र निर्णयात्मक मूल्याङ्कन गरी शिक्षण प्रक्रियामा समेत आवश्यक सुधार गरिने भएकाले मूल्याङ्कन पाठ्यक्रमको एक अनिवार्य तत्त्व हो ।

पाठ्यक्रम निर्माण गर्दा उपलब्ध ज्ञानको स्रोतको प्रयोगका पक्षहरू

१. तथ्यः मानव विचारको विकासको मूल आधार तथ्य नै भएकाले पाठ्यक्रमले तथ्यको शिक्षण हुने व्यवस्था मिलाउनुपर्दछ ।
२. धारणाः वस्तु घटना र प्रक्रियाहरूलाई सङ्गठित गर्ने अमूर्त विचार धारणा हो । पाठ्यक्रम निर्माण गर्दा सही स्थायी र प्रयोग गर्न सकिने धारणालाई आधार मान्नुपर्दछ ।
३. सिद्धान्तः सिद्धान्त भनेको कुनै पनि विषयप्रतिको ठोस दृष्टिकोण हो । पाठ्यक्रम कुनै न कुनै सिद्धान्तमा आधारित हुने भएकाले पाठ्यक्रम विकास गर्दा समय र परिस्थितिअनुसार ज्ञानलाई कुन सिद्धान्तका आधारमा शिक्षण गर्ने भन्ने कुरा निर्धारण गर्नुपर्छ ।
४. सामान्यीकरणः के गर्दा के हुन्छ भन्ने सामान्य सम्बन्धका आधारमा गरिने भविष्यवाणीहरू सामान्यीकरण भित्र पर्छन् । सामान्यीकरणलाई एउटा महत्वपूर्ण विचार पनि मानिन्छ । विद्यार्थीहरूमा कस्तो ज्ञान प्रवाह गर्दा उनीहरूमा सामान्यीकरणको विकास गर्न सकिन्छ भन्नेबारे पाठ्यक्रम निर्माण गर्दा सधैं ध्यान पुयाउनुपर्ने हुन्छ ।
५. विधि वा तरिकाः कार्य गर्ने तौरतरिका विधि भएकाले यसको मुख्य आधार तथ्य हो । तथ्यहरूका आधारमा आधारभूत ज्ञान प्राप्त गरेपछि त्यसको प्रयोगको तरिका निर्धारण गर्न सजिलो हुन्छ । तसर्थ ज्ञानलाई प्रयोग गर्ने विधि पनि पाठ्यक्रममा समावेश गरिनुपर्छ ।
६. प्रक्रियाः ज्ञानलाई पूर्णता दिनका लागि प्रक्रियाको आवश्यकता पर्छ । त्यस्तै ज्ञानको एउटा तह पूरा नगरी अर्को तहमा जान कठिन हुन्छ । तसर्थ पाठ्यक्रममा ज्ञानको निर्धारण गर्दा प्रक्रियाहरूलाई पनि आधार मान्नुपर्छ ।
७. मापदण्डः ज्ञानको आआफ्नो सीमा हुने भएकाले पाठ्यक्रममा तहअनुसारको ज्ञानको सीमा निर्धारण गरिएको हुन्छ । यसका साथै ज्ञानको मापन गर्ने मापदण्ड पनि पाठ्यक्रममा निर्धारण गरिनुपर्छ ।

पाठ्यक्रम विकासमा प्रभाव पार्ने तत्त्वहरू

पाठ्यक्रम शैक्षिक क्रियाकलापको दस्तावेज भएकाले समाजको प्रकृति, विज्ञान तथा प्रविधिको विकास, समाजको चाहना तथा राजनीतिक परिवर्तन जस्ता तत्त्वहरूले पाठ्यक्रम निर्माणमा प्रभाव पार्दछन् । पाठ्यक्रम विकासमा प्रभाव पार्ने तत्त्वहरू निम्नलिखित छन्:
१. विद्यार्थी:
विद्यार्थी सम्पूर्ण शैक्षिक प्रक्रियाका केन्द्र हुन् र यिनका शैक्षिक आवश्यकता पूर्तिबाट नै राष्ट्रको आवश्यकता पूरा हुन्छ । पाठयक्रम र बालबालिका एउटै प्रक्रियाका दुई पक्ष हुन् । पाठ्यक्रम बालबालिकाका अभिव्यक्ति, आवश्यकता, क्षमता र मानसिक विकासका आधारमा तयार पारिने हुँदा विद्यार्थी विना पाठ्यक्रम नै बन्दैन । पाठ्यक्रम निर्माण गर्दा विद्यार्थीको खोज गर्ने, सिर्जना गर्ने, सञ्चार गर्ने र अभिव्यक्त गर्ने क्षमता विचार गरिनुपर्छ । पाठ्यक्रमको सङ्गठन तथा विषयवस्तुको क्षेत्र र क्रम निर्धारणमा पनि बालबालिकाको सिकाइ क्षमता विचार गर्नुपर्छ । पाठयक्रममा उद्देश्य तय गर्दा पनि विद्यार्थीको शैक्षिक आवश्यकतालाई ध्यान दिइन्छ । पाठ्यक्रम बालकको क्षमता र व्यक्तिगत भिन्नतालाई हेरेर उनीहरूको सर्वाङ्गीण विकास गर्न सकिने गरी बनाइने हुँदा विद्यार्थीले पाठ्यक्रम निर्माणमा प्रभाव पारिरहेका हुन्छन् । पाठ्यक्रम बालबालिकाको समसामयिक सामाजिक जीवनसँग सम्बन्धित हुने हुँदा विषयवस्तुको छनोट गर्दा उनीहरूको कक्षाको स्तर र सामाजिक सम्पर्कको क्षेत्र विस्तारमा सान्दर्भिकता महसुस गर्ने किसिमको विषय छनोट गर्नुपर्छ । यसरी विद्यार्थी पाठ्यक्रमको विकासमा प्रभाव पार्ने महत्वपूर्ण तत्त्व मानिन्छ ।
२. विद्यालय:
पाठ्यक्रम प्रयोग गर्ने ठाउँ विद्यालय हो । विद्यालयको शैक्षिक वातावरणले पाठ्यक्रम कार्यान्वयनमा प्रभाव पारेको हुन्छ । विद्यालयको शैक्षिक वातावरण भन्नाले योग्य तथा अनुभवी शिक्षक, भौतिक सुविधा, शैक्षिक सामग्री तथा उपकरणको पर्याप्तता र प्रयोगशाला तथा पुस्तकालयको उचित व्यवस्थापन भन्ने बुझिन्छ । विद्यालयमा यी सुविधा नभएमा सिकाई उपलब्धि हासिलमा बाधा पर्ने भएकाले विद्यालय पाठ्यक्रमको विकासमा प्रभाव पार्ने तत्त्व हो । पाठ्यक्रम कार्यान्वयन गर्ने जिम्मा शिक्षकको हो, त्यसैले शिक्षकमा दक्षता र योग्यता नभएमा, स्थायित्व र पेसागत सुरक्षा नभएमा, शैक्षिक वृत्ति, तालिम र उचित मूल्याङ्कन नभएमा पाठ्यक्रमको सही कार्यान्वयन हुन सक्दैन जुन कार्य विद्यालयको जिम्मेवारीभित्र पर्छ । विद्यालयले शिक्षकलाई अनुभव सङ्गठित गर्ने र पुनर्ताजगीकरण गर्ने मौका दिनुपर्छ । कहिलेकाही पेसाको सुरक्षा नहुँदा र सुविधा अपर्याप्त हुँदा पनि पाठ्यक्रमअनुसार अध्यापन नहुने भएकाले विद्यालयले विद्यालयको क्षमता र शिक्षकको दायित्वबोध गराउनुपर्छ ।
विद्यालयको भौतिक सुविधा पर्याप्त नभएर पनि पाठ्यक्रम कार्यान्वयनमा असर पर्ने भएकाले विद्यालयमा कक्षाकोठा, पुस्तकालय, प्रयोगशाला, खेलमैदान आदिको राम्रो व्यवस्था गरी विद्यार्थीलाई कक्षा कोठाभित्र र बाहिरका शैक्षिक क्रियाकलापमा सहभागी गराउन सकिन्छ । यसर्थ पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनमा विद्यालयको शैक्षिक वातावरण, शिक्षकका सर्त सुविधा र भौतिक सुविधाले पनि प्रभाव पारेको हुन्छ ।
३. विषयक्षेत्र वा विधा:
विषयसँग सम्बन्धित तथ्य, सूचना, धारणा तथा सिद्धान्तका भण्डारलाई विषयक्षेत्र भनिन्छ । यहीँ विषयक्षेत्रबाट विद्यार्थीको आवश्यकताअनुसार पाठ्यक्रम तयार गरिन्छ । ज्ञानको भण्डारकै आधारमा विषयवस्तुको गहनता र व्यापकता निर्धारण गरिन्छ र सोही आधारमा शिक्षणविधिहरू चयन गरिन्छ। पाठ्यक्रममा ज्ञानको नवीनतम विकासलाई समेटिन्छ । त्यसैले पाठ्यक्रममा मानवीय खोज, अनुसन्धान, सोँचाइ, सामाजिक सम्बन्ध र व्यवहारको समसामयिक धारणा समेटिनुपर्छ । यसर्थ ज्ञानको कुनै पनि विधाअन्तर्गत भएको विकासलाई पाठ्यक्रममा समावेश गरिनुपर्ने भएकाले विषयक्षेत्र वा विधाले पनि पाठ्यक्रम विकासमा असर पार्छ ।
४. सिकाइप्रक्रिया:
पाठ्यक्रममा विद्यार्थीले सिक्ने प्रक्रिया, सिकाइ दिगो राख्ने र प्रभावकारी बनाउने प्रक्रिया र स्तरीय अनुभव प्रदान गर्ने प्रक्रिया उल्लेख गरिएको हुन्छ, जसलाई समग्रमा सिकाइ प्रक्रिया भनिन्छ । सिकाइ प्रक्रियामा भएका विभिन्न प्रयोगले धेरै विषय छोटो समयमा सिकाउन सम्भव हुने हुँदा विद्यार्थीहरूलाई सिकाइप्रति रुचि जगाउन सिकाइ प्रक्रिया माथि ध्यान पुर्‍याउनुपर्छ । सिकाइप्रक्रियाका आधारमा विषयवस्तु र विधि छनोट गरिन्छ । प्रयोग गर्न सकिने शिक्षणविधि, बालकको मानसिक विकास र सामाजिक वातावरणमा अन्तरक्रियाले पाठ्यक्रमको उद्देश्य निर्माण, विषयवस्तु चयन तथा सङ्गठन र शिक्षणविधि निर्धारण गर्छन् । विभिन्न कक्षाका एउटै विषय पढाउन भिन्न विधि प्रयोग गरिए जस्तै एउटै कक्षाका भिन्नभिन्न क्षमताका विद्यार्थीलाई सिकाउन पनि विभिन्न विधि प्रयोग गर्नुपर्छ । यसरी सिकाइ प्रक्रियामा विविधता ल्याइएन भने पाठ्यक्रमका सबल पक्ष पनि कार्यान्वयन नहुने भएकाले सिकाइ प्रक्रियालाई पाठ्यक्रमको विकासमा प्रभाव पार्ने महत्त्वपूर्ण तत्त्व मानिन्छ ।
५. समुदाय:
समुदायका शैक्षिक आवश्यकता पूरा गर्न विद्यालय स्थापना गरिएको हुनाले समुदायका विभिन्न परिवारका बालबालिकाको आकांक्षा पूरा गर्न विद्यालयले सकारात्मक भूमिका खेल्नुपर्छ । पाठ्यक्रमले समुदायको परिवर्तन गर्न सक्नुपर्छ । पाठ्यक्रमको उद्देश्य समुदायको स्रोत र साधनको सदुपयोग गरी समाजको आवश्यकताअनुसार जनशक्ति तयार गर्ने हुनुपर्छ । पाठ्यक्रम समुदायको हित विपरीत भएमा त्यसलाई समुदायले नस्वीकार्ने भएकाले पाठ्यक्रममा समुदायका आवश्यकता समेटिनुपर्छ । समुदायको विकासका लागि पाठ्यक्रममा स्थानीय स्रोत र साधनको प्रयोगसम्बन्धी विषय समेट्नुपर्छ । पाठ्यक्रममा समुदायका पेसा, परम्परा, मान्यता आदिलाई स्थान दिनुपर्छ भने समुदायमा आउने परिवर्तनका आधारमा पाठ्यक्रममा पनि परिवर्तन गर्नुपर्छ । यसका लागि राष्ट्रले समाजमा आउने परिवर्तन अध्ययन गरी तिनलाई पाठ्यक्रममा समावेश गर्नुपर्छ । समुदाय पनि पाठ्यक्रमको निर्माण र विकासमा प्रभाव पार्ने तत्त्व हो ।
६. समकालीन समाज:
एउटै उद्देश्यमा सङ्गठित भई व्यापक अन्तक्रियामा सहभागी हुने मानिसको समूह नै समाज हो । सामाजिक समूहसँग अन्तक्रिया गरेर मानिसले आफ्नो आवश्यकता पूरा गर्दछ । शिक्षा पनि सामाजिक संरचना भित्रको एउटा एकाइ भएकाले त्यसले बालबालिकालाई सृजनशील र उत्पादनशील बनाउँछ । शिक्षा कुनै लक्षित समाजका लागि दिइन्छ । त्यसैले पाठ्यक्रम निर्माण गर्दा समकालीन समाजको वास्तविकता, संरचना र विकास प्रक्रिया, मूल्य-मान्यता र सामाजिक-आर्थिक अवस्थालाई विचार गर्नुपर्छ । शिक्षाले समाजको परिवर्तन गर्न सक्ने भएकाले पाठ्यक्रम निर्माण गर्दा सामाजिक शक्ति, सांस्कृतिक मान्यता, आर्थिक कारक, संस्कार, अनुशासन, मौलिकता र आधुनिकता जस्ता विविध तत्त्व समेटी समकालीन समाजको परिवर्तन गर्ने उद्देश्य राख्नुपर्छ । 
जनसङ्ख्या, विज्ञानप्रविधि, औद्योगिकरण, मानव अधिकार, प्रजातान्त्रिकरण आदिले समाज जटिल बन्दै जान्छ । पाठ्यक्रममा पनि समाजलाई परिवर्तन गर्ने कारक तत्त्वको खोजी गरी आधुनिकतातर्फ उन्मुख गराउने विषयवस्तु राखिनुपर्छ । त्यस्तै समाजको परिवर्तन गरी अन्तर्राष्ट्रिय स्तरमा पुयाउन पनि समाजको परिवर्तनअनुसार पाठ्यक्रम परिवर्तन गर्नुपर्छ । समाजमा शिक्षाप्रतिको चेतना बढेमा शिक्षाका लगानी र जनसहभागिता बढ्छ । यसले शिक्षा गुणात्मक बनी उत्पादित जनशक्तिले असल व्यवसाय छनोट गर्न सक्छन् । यसका लागि पाठ्यक्रममा सामाजिक शक्ति, सामाजिक संस्कृति, सामाजिक आवश्यकता र आर्थिक विकासका पक्ष समेटिनुपर्छ । पाठ्यक्रम समाजदेखि भिन्न हुन नसक्ने भएकाले पनि समसामयिक समाजले पाठ्यक्रम निर्माण र विकासमा प्रभाव पार्छ ।

Post a Comment

0 Comments