F
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय,घारिवन

अपडेटेड नयाँ पोस्ट हेडलाइन

10/recent/ticker-posts

शिक्षाको अर्थ, परिभाषा, स्वरूप, उद्देश्य, सक्षमता र कार्यहरु - शिक्षासम्बन्धी आधारभूत ज्ञान

Print Friendly and PDF

 शिक्षाको अर्थ, परिभाषा, स्वरूप, उद्देश्यहरु र कार्यहरु

खण्ड ख : शिक्षासम्बन्धी आधारभूत ज्ञान
शिक्षाको अर्थ, परिभाषा, स्वरूप, उद्देश्यहरु र कार्यहरु

शिक्षाको अर्थ र परिभाषा

- शिक्षा भनेको मानिसलाई पूर्ण बनाउने एउटा प्रक्रिया हो, जुन जन्मदेखि मृत्युसम्म चलिरहन्छ । जीवनपर्यन्त चलिरहने सिकाइ प्रक्रिया शिक्षा हो, जसले मानिसको सर्वाङ्गीण विकासलाई सम्भव बनाउँछ र समाजमा योग्य एवम् सक्षम व्यक्तिको भूमिका निर्वाह गर्न सक्ने बनाउँछ ।
- वास्तवमा शिक्षा सामाजिक विकासको एउटा प्रक्रिया हो । शिक्षा मानवीय परिवर्तनको प्रमुख तत्त्व हो । तसर्थ व्यक्तिको बौद्धिक, शारीरिक, सामाजिक, आर्थिक, सांस्कृतिक, नैतिक, भौतिक आदि हरेक क्षेत्रको सर्वाङ्गीण विकास गराउनु नै शिक्षाको कार्य हो । यसरी शिक्षा भन्नाले मानिसमा भएको क्षमताको विकास गर्नु, योग्य र सक्षम नागरिक बन्न सिक्नु, ज्ञान, सीप आर्जन गरी असल स्वभावको निर्माण गर्नु तथा समाजमा मिलेर बस्न सक्ने क्षमताको विकास गर्नु भन्ने बुझिन्छ ।
- शिक्षा सामान्य अर्थमा व्यक्तिको त्यो सबै एकीकृत प्रक्रिया हो, जसमा व्यक्तिले आफ्नो दक्षता, क्षमता, वानीबेहोराको बृद्धि र विकास गरी वास्तविक जीवनमा प्रयोग गर्दछ । शिक्षा व्यक्ति र समाजको उत्थान गर्ने प्रभावकारी साधन हो ।
- शिक्षालाई सामान्य अर्थमा आदेश, कर्मशील, जागरुक तथा उत्पादनशील मानव तयार गर्ने सशक्त साधनको रुपमा लिइन्छ । शिक्षाको अर्थ सिकाउनु, प्रशिक्षण दिनु, अन्तरनिहित प्रतिभा र क्षमताको प्रस्फुटन गराउनु वा गर्नु भन्ने हुन्छ ।
- मानिसले जन्मदेखी मर्ने बेलासम्म विद्यालय भित्र वा बाहीर नयाँ नयाँ कुराहरु जानेर, बुझेर बातावरणसँग समायोजन हुन सक्ने ज्ञान, सीप नै शिक्षा हो । मानव जीवन र समाज परिवर्तनशील भएकाले पनि तदनुरुप शिक्षाका अर्थ प्रभावित भएको पाइन्छ ।
- प्राचिनकालदेखि विभिन्न ढङ्गबाट शिक्षाको आदानप्रदान हुँदै आएको पाइन्छ । शिक्षाविद् दार्शनिक, विद्वान, शिक्षक, शिक्षा, मनोवैज्ञानिक एवम् सर्वसाधारणको दृष्टिबाट शिक्षाका विभिन्न अनेकौं परिभाषा तथा अर्थहरु प्राप्त भए जस्तै शिक्षा लिने/दिने विधिको निर्धारणका तरिकाहरुमा पनि विविधता रहेका छन् ।
- समय र परिस्थिति अनुसार शिक्षालाई सामाजिक दृष्टिले समाज सापेक्ष बनाउने, आर्थिक दृष्टिले स्वावलम्बी र आर्थिक सक्षमता प्रदान गर्ने, दार्शनिक रुपले मानवीय चिन्तनको विकास गर्ने, साँस्कृतिको दृष्टिले संस्कृतिको संरक्षण र संवद्धन गर्न सक्षम नागरिक बनाउने अर्थ र परिभाषामा लिइन्छ ।
- "शिक्षा अरु केही होइन, व्यक्तिको आचरण, चरित्र र वानीहरुको निर्माण र विकास मात्र हो ।" - Rousseau

शिक्षाको शाब्दिक अर्थ

- शिक्षा" शब्द “शिक्ष" धातुमा अ-प्रत्यय लागी बनेको संस्कृत शब्द हो ।जसको अर्थ "सिकाउनु" हुन्छ । कुनै विषयको ज्ञान दिनु वा व्यक्तिलाई कुनै सीप, गुण एवम् व्यवहार सिकाउनु नै शिक्षा हो । शिक्षालाई अङ्ग्रेजीमा 'Education' भनिन्छ । "Education" लेटिन भाषाको एडुकाटस् (Educatus) वा एडुकेर (Educare) बाट आएको मानिन्छ । व्यक्तिमा लुकेर रहेको क्षमतालाई बाहिर निकाल्नु र क्रमशः विकसित गर्नुलाई नै शिक्षा भनिन्छ ।
- शिक्षा भनेको मानिसमा भएको क्षमताको विकास गर्नु योग्य र सक्षम नागरिक बन्न सिक्नु र ज्ञान, सीप आर्जन गरी असल स्वभाव विकास गर्नु हो ।

शिक्षाको सामान्य अर्थ

शिक्षालाई विभिन्न विद्वानहरूले तथा शास्त्रहरूले आजसम्म कुन कुन रूपमा परिभाषित गर्दै आए भन्नुलाई शिक्षाको सामान्य अर्थ भनिन्छ । भनिन्छ । विभिन्न विद्वानहरू वा शास्त्रहरूले शिक्षालाई मानवीय विकासका रूपमा प्रयोग गर्दै आएको पाइन्छ । शिक्षा मानव जीवनको गहना हो, शिक्षा प्राप्त गरेको व्यक्ति, सभ्य हुन्छ, शिक्षा प्राप्त नगरेको मान्छे पशुसरह हुन्छ, शिक्षाले आदर्श नागरिक निर्माण गर्छ । शिक्षा प्राप्त गरेको मानिस कर्मठ हुन्छ, शिक्षाले मानव जीवनलाई सार्थक बनाउँछ, शिक्षा समाज विकासको सूचक मानिन्छ, जस्ता थुप्रै थुप्रै अवधारणाहरू विकसीत भएका छन् । यस्ता अवधारणाहरूलाई शिक्षाको सामान्य अर्थभित्र राख्न सकिन्छ ।

शिक्षाको सडकुचित अर्थ

शिक्षाको सङ्कुचित अर्थानुसार विद्यालयमा दिइने ज्ञान र सीपलाई शिक्षा मानिन्छ । यस अर्थमा विद्यालय र पढाइ सम्बन्धित मानिने भएकाले विद्यालयमा बालकले लेखपढ गर्न जान्नुलाई नै शिक्षा भनिन्छ । विद्यालयमा निर्धारित पाठ्यक्रम र पाठ्यपुस्तकका आधारमा विद्यार्थीलाई ज्ञान र सीपका अतिरिक्त अनुशासन, सत्चरित्र र सद्व्यवहार सिकाई निर्धारित समयभित्र निर्धारित ज्ञान प्रदान गरिन्छ । यसकै आधारमा उनीहरूलाई औपचारिक प्रमाणपत्र दिई रोजगारीका लागि योग्य तुल्याइन्छ । यसर्थ शिक्षाको सङ्कुचित अर्थमा विद्यालयमा विद्यार्थीलाई प्रदान गरिने ज्ञान, सीप, योग्यताको प्रमाणपत्र र रोजगारीका लागि - मापदण्ड तयार गर्नेसम्बन्धी सम्पूर्ण शिक्षण क्रियाकलापलाई शिक्षा भनिन्छ ।
"शिक्षा त्यही चिज हो जसले मानिसलई Selfieliant and selfless बन्न सहयोग गर्दछ ।" - Rigveda
"शिक्षा अरु कोही होइन, बानीहरुको निर्माणमात्र हो । (Education is nothing but the formation of habits." - Rousseau
"शिक्षाले मानिसको शरीर र आत्मलाई पूर्णता प्रदान गर्दछ, जसबाट विद्यार्थीहरु प्रभावित हुन्छन् । (Education consists in giving to the body and soul all the perfection at which they are susceptible.)"
"स्वास्थ्य शरीरमा स्वस्थ मस्तिष्कको निर्माण गर्नु नै शिक्षा हो । (Education is a creation at sound mind in a sound body.)" - Plato
"शिक्षा भनेको सार्वजनिक रुपमा वैद्य विचारलाई बाहिर ल्याउनु हो, जुन प्रत्येक मानिसको मनमा लुकी बसेको हुन्छ । (Education means the bringing out of the ideal of universal validity which are latent in the mind of every man.)" -  Rousseau

शिक्षाको व्यापक अर्थ

शिक्षा मानिसको जन्मजात शक्तिहरूको स्वाभाविक, सामञ्जस्यपूर्ण र प्रगतिशील विकास हो । (Education is a natural, harmonious and progressive development of man's inner power.)" - Pestalazzi
"व्यक्तिमा आफ्नो वातावरणलाई नियन्त्रण गरी आफ्ना सम्भावनाहरूलाई पूरा गर्न सक्ने क्षमताहरूको विकास गराउनु नै शिक्षा (Education is the development of all those capacities in an individual which will enable him to control his environment ant fulfill his possibilities.)" - John Dewey
"व्यापक अर्थमा भन्दा जन्मदेखि नमरेसम्म व्यक्तिलाई प्रभाव पार्ने सम्पूर्ण कुरालाई शिक्षा भनिन्छ । (Education in the widest sense includes all the influence which act upon an individual during the passage form the cradle to the grave.) - Dunwille
- कनै पनि व्यक्ति समाज र राष्ट्रको समग्र विकास एवम् समुन्नतिको मुख्य आधारलाई शिक्षा मानिन्छ । शिक्षाबिना व्यक्ति, समाज र राष्ट्रिय विकासको परिकल्पना गर्न सकिदैन । कुनै पनि राष्ट्रमा शिक्षा पद्धतिको तर्जुमा तथा सञ्चालन गर्दा राष्ट्रको आवश्यकता र सम्बन्धित समाजका मानिसहरुको चाहनाका आधारमा गरिन्छ ।
- व्यक्तिले वातावरणबाट सिक्छ । बालक जन्मदेखि मृत्युपर्यन्त सिक्ने क्रम जारी रहन्छ । विद्यालय नगए पनि व्यक्तिले आफ्नो अनुभवबाट थुप्रै कुराहरू सिकिरहेको हुन्छ । शिक्षाको व्यापक अर्थमा व्यक्तिले जीवनभर यसरी आफै सिक्ने सम्पूर्ण अनुभवहरूलाई शिक्षा भनिन्छ । अनुभवको निरन्तर प्रभाववाट व्यक्तिको चौतर्फी विकास हुने भएकाले व्यक्तित्व विकास गर्ने प्रक्रियालाई पनि शिक्षा भनिन्छ ।

शिक्षाको विश्लेषणात्मक अर्थ

शिक्षालाई विभिन्न विद्वानहरूले विभिन्न रूपबाट विश्लेषण गरेका छन्, जसलाई शिक्षाको विश्लेषणात्मक अर्थ भनिन्छ । तलका बुँदाबाट शिक्षाको विश्लेषणात्मक अर्थ प्रष्ट हुन्छ :
१. शिक्षाको अर्थ विद्यालय शिक्षामा मात्र सीमित छैन ।
शिक्षा निरन्तर चलिरहने प्रक्रिया भएकाले व्यापक र असीमित छ। यसलाई विद्यालय शिक्षामा मात्र सीमित गर्नु हुँदैन । यसलाई औपचारिक, अनौपचारिक र अनियमित विभिन्न तरिकाबाट सिक्न सकिन्छ ।
२. बालकको अन्तर्निहित शक्तिको सर्वाङ्गिण विकास गर्न रुपमा शिक्षा ।
प्राचीन समयमा शिक्षालाई ज्ञान केन्द्रितरूपमा लिइन्थ्यो । मध्यकालीन समयमा शिक्षालाई बालकेन्द्रित रूपमा लिइयो । यस अर्थका मुख्य पर्वतक रुसोलाई मानिन्छ । उनले मुख्यतया बालक केन्द्रित शिक्षामा जोड दिएका छन् । उनको भनाईमा बालकको अन्तरनिहित शक्तिलाई सन्तुलितरूपमा विकास गराउनु शिक्षाको काम हो । विद्यार्थीलाई बाहय ज्ञान लादनुको सट्टा उसमा रहेको भित्री भावनाको विकास गराइनु उसको समग्र पक्षको सर्वाङ्गिण विकास गराउनु यसको मुख्य उद्देश्य हो ।
३. शिक्षा त्रिमुखी प्रक्रिया हो ।
शिक्षाको त्रिमुखी सिद्धान्तभन्दा अगाडि एकमुखी र दुइमुखी सिद्धान्तको विकास भएको थियो । एकमुखी प्रक्रियामा शिक्षा शिक्षक केन्द्रित वा बालककेन्द्रित हुन्छ । यसमा शिक्षक र बालकमध्ये कुनै एक निष्क्रिय रहन्छन् । शिक्षाको दुइमुखी प्रक्रियामा शिक्षक र विद्यार्थी दुवैको समान सहभागिता रहन्छ ।
शिक्षाको त्रिमुखी प्रक्रियाका प्रतिपादक जे.इ. एडम्सन (J.E. Adamson) हुन् । उनको विचारमा शिक्षा प्राप्त गर्नु भनेको संसार र व्यक्तिको बीचमा सम्बन्ध स्थापना गर्नु हो । उनका अनुसार व्यक्तिले सम्बन्ध राख्नुपर्ने संसार तीन प्रकारका छन् ती हुन्: प्रकृति, समाज र नैतिकता । यस प्रक्रियाअनुसार शिक्षा प्राप्त गर्न शिक्षक, विद्यार्थी र पाठ्यक्रमको आवश्यकता पर्दछ । यी तीन तत्वहरूमध्ये कुनै एकको अभावमा शिक्षा प्रभावकारी नहुने हुनाले शिक्षालाई त्रिमुखी प्रक्रिया भनिएको हो । शिक्षाविद् जोन डिवेले पनि शिक्षालाई त्रिमुखी प्रक्रिया मानेका छन् । उनको विचारमा शिक्षक विद्यार्थी र समाज शिक्षाका ३ पक्षहरू हुन् । यो तीन पक्ष समाजका पक्ष भएकोले शिक्षा त्रिमुखी प्रक्रिया हो ।
४. शिक्षा एक गतिशील प्रक्रिया हो ।
परम्परागत धारणाअनुसार शिक्षा एकपटक प्राप्त गरेपछि सधैलाई हुन्छ भन्ने विचारमा अहिले परिवर्तन आएको छ । आजको परिवर्तनशील विश्वमा पलपलमा नयाँ नयाँ कुराहरू आविष्कार भइरहने हुनाले यो निरन्तर चलिरहने गतिशील प्रक्रिया हो । व्यक्तिलाई बदलिँदो परिवेशमा समायोजन गर्ने शिक्षालाई गतिशील प्रक्रियाको रूपमा स्वीकारिनु पर्दछ ।
५. शिक्षा सामाजिक विकासको एक प्रक्रिया हो ।
मानिस एक सामाजिक प्राणी भएकोले विविध सामाजिक जटिलता र सम्बन्धहरूसँग अन्तक्रिया गर्दै एक असल नागरिक बन्ने कोशिसमा लागिरहेको हुन्छ । समाजका वैज्ञानिक, औद्योगिक र विविध सामाजिक कार्यहरूमा संलग्न हुँदै प्रजातान्त्रिक मूल्य र मान्यताका आधारमा व्यक्तिले आफ्ना क्रियाकलापहरू बढाइरहेको हुन्छ । जस्तोसुकै सामाजिक वातावरणमा पनि समायोजित हुन व्यक्तिलाई शिक्षाले निर्देशन दिन्छ । शिक्षाको माध्यमबाट समाजले आफ्ना उद्देश्यहरू निर्माण गर्ने, स्रोत र साधनहरूको परिचालन गर्ने, सामाजिक, आर्थिक र राजनैतिक विकास गर्ने काम गर्न सक्दछन् । व्यक्ति समाजको असल नागरिक बन्नका लागि शिक्षाको आवश्यकता पर्दछ । विरुवाको विकासका लागि गोडमेल र मलजलको आवश्यकता परेजस्तै समाजको विकासका लागि पनि शिक्षाको आवश्यकता पर्दछ ।
६. शिक्षा मानवीय व्यवहारको परिवर्तनका रूपमा ।
शिक्षाले व्यक्तिले जन्मजात रूपमा पाएका गुणहरू र वातावरणले सृजना गरेका मानवीय व्यवहारमा पूर्णरूपमा परिवर्तन ल्याउने भएकाले सामाजिक समायोजनमा व्यक्तिलाई सहयोग पुयाउने गर्दछ । त्यसकारण शिक्षाले व्यक्तिको अन्तरनिहित प्रतिभाको प्रष्फुटन र परिचालन गराइ मानवीय व्यवहारको परिवर्तन गर्दछ ।
७. शिक्षा समायोजनको एक प्रक्रिया हो ।
व्यक्ति समाजमा बस्दछ, हुर्कन्छ, बढ्छ र सोही समाजमा आफ्ना क्रियाकलापहरू सञ्चालन गर्दछ । समाजका विभिन्न प्रकारका वातावरणहरूमा समायोजन हुन व्यक्तिलाई सक्षम बनाउन सक्नुपर्दछ । त्यसैले शिक्षालाई सामाजिक समायोजनको एक प्रक्रिया मानिएको हो ।
८. शिक्षा जीवनको तयारीको एक प्रक्रिया हो ।
शिक्षाले व्यक्तिलाई वर्तमान अवस्थाको समायोजनका लागि प्रशिक्षित गरेर भावी जीवनका लागि पनि तयार गराउने भएकोले यो मानव जीवनको तयारीको प्रक्रिया हो । Herbert Spencer ले “शिक्षाले हामीलाई पूर्ण जीवनयापनका लागि तयार गर्दछ" भनेका छन् । त्यस्तै गरी Immanual Kant ले “भविष्यको तयारी शिक्षा हो" भनेका छन् । यसर्थ जीवन कसरी चलाउँदै लाने हो भन्ने तयारी शिक्षाले गर्ने भएकोले शिक्षालाई जीवनको तयारीको प्रक्रियाको रूपमा मानिएको हो ।
९. शिक्षा एक तालिम र प्रशिक्षणको रूपमा रहेको छ ।
शिक्षाले व्यक्तिलाई शिक्षण लगायत अन्य वोलीचाली चाल चलन रहनसहन रिती रिवाजमा तालिम र प्रशिक्षणको रूपमा कार्य गर्ने भएकाले यसलाई तालिम र प्रशिक्षणको रूपमा लिने हो ।
१०. शिक्षा जीवनविकासको मार्गदर्शनको रुपमा 
मानव वृद्धि र विकासका हरेक चरणमा आफ्नो जीवनको सफल विकास गर्नका लागि उचित मार्गदर्शन र परामर्श शिक्षाले प्रदान गर्ने भएकोले यसलाई मार्गदर्शनको रूपमा लिइएको हो ।

शिक्षाको स्वरूप

शिक्षाको स्वरुप भन्नाले शिक्षा लिने प्रक्रियालाई बुझाउँछ । शिक्षाका विभिन्न अर्थ, अवधारणा, परिभाषा, शिक्षा ग्रहण गर्ने र प्रदान स्वरुप र प्रकियाहरुबारे प्रशस्त मतमतान्तरहरु देखिएका छन् । शिक्षा कुन-कुन किसिमले लिन वा दिन सकिन्छ त्यसलाइ नै शिक्षाको स्वरुप भनिन्छ । शिक्षा ग्रहण गर्ने र प्रदान गर्ने आधारहरुअनुसार शिक्षाको स्वरुपलाई निम्न बमोजिम उल्लेख गर्न सकिन्छ:

साधारण र विशिष्ट शिक्षा

(i) विशिष्ट शिक्षा
- व्यक्तिमा अन्तरनिहित प्रतिभा र क्षमताका आधारमा प्रदान गरिने शिक्षा नै विशिष्ट शिक्षा हो । अर्थात व्यक्तिगत भिन्नता, समता र विशिष्ट गुणका आधारमा प्रदान गरिने खास प्रकृतिको शिक्षालाई विशिष्ट शिक्षा भनिन्छ ।
- सामान्य वा साधारण शिक्षाबाट व्यक्तिले आफ्नो योग्यता दक्षता वा क्षमता बढाई कुनै खास लाइसेन्स, डिग्री हासिल गर्न, प्रशासनिक वा सामान्य सेवामा काम गर्न पाउने अवसर प्राप्त गर्दछन् । यो अनिवार्य, अपरिहार्य एवम आधारभूत शिक्षा हो ।
(ii) साधारण शिक्षा
- सामान्य उद्देश्य राखेर प्रदान गरिने शिक्षालाई साधारण शिक्षा भनिन्छ । व्यक्तिलाई सामान्य जीवनयापनका लागि तयार गर्न दिइने शिक्षा सामान्य शिक्षा हो । सीपमूलक , साक्षरतामूलक र साधारण योग्यता बढाउने खालको शिक्षा सामान्य शिक्षा हो ।
- निश्चित लक्ष्य उद्देश्य राखि कुनै खास व्यवसाय, पेशा प्राविधिक क्षेत्र, शिक्षक, इन्जिनियर, डाक्टर, कलाकार, वकिल, पाइलट, आदि तयार गर्ने उद्देश्यले दिइने शिक्षालाई विशिष्ट शिक्षा भनिन्छ । कुनै पनि व्यक्तिलाई जुन क्षेत्रमा रुची छ, दक्षता, क्षमता र चाहना छ - त्यसलाई त्यही क्षेत्रतर्फ जाने वातावरण तयार गरी विशिष्ट शिक्षा प्रदान गरिन्छ ।

प्रत्यक्ष र अप्रत्यक्ष

(i) प्रत्यक्ष
- व्यक्तिले कुनै कुरा प्रत्यक्ष रुपमा देखेर, सुनेर, भोगेर, अनुभव गरेर आफ्नो व्यवहारमा परिवर्तन ल्याउँछन् भने त्यसलाई प्रत्यक्ष शिक्षा भनिन्छ ।
- विद्यार्थीहरु शिक्षकको ज्ञान, आदर्श व्यक्तित्व, चरित्र एवम् व्यवहारबाट प्रभावित भई धेरै कुराहरु अनुकरण गरेर सिक्दछन् ।
(ii) अप्रत्यक्ष शिक्षा
- विद्यार्थीको इच्छा, रुची, आवश्यकता र उपयोगितामा आधारित स्वतन्त्र प्रकृतिको बन्धन रहित शिक्षालाई अप्रत्यक्ष शिक्षा भनिन्छ । पूर्वयोजना, शिक्षक र विद्यार्थीको प्रत्यक्ष उपस्थिति यसमा आवश्यक पर्दैनँ ।
- अप्रत्यक्ष शिक्षा व्यक्तिले कुनै पनि समय, स्थान र अवस्थामा आर्जन गर्न सक्दछ । अप्रत्यक्ष शिक्षामा शिक्षकको अनुपस्थितिमा समेत शिक्षण सिकाइको कार्य हुने गर्दछ । विद्यार्थी शिक्षक तथा स्रोत व्यक्ति वा विशेषज्ञहरुका व्यक्तिगत प्रभावबाट नहुने हुँदा प्रभावित पार्न विभिन्न अप्रत्यक्ष साधनहरुको प्रयोग गरिन्छ । यसरी प्राप्त हुने शिक्षा नै अप्रत्यक्ष शिक्षा हो ।

व्यक्तिगत र सामुहिक 'शिक्षा

(i) व्यक्तिगत शिक्षा
- व्यक्तिको माग, रुची, चाहना, आवश्यकता र समस्यालाई प्रत्यक्ष रूपमा सम्बोधन गरी उसको योग्यता, क्षमता र कार्यदक्षता बढाउने उद्देश्यले सञ्चालन गरिने शिक्षालाई व्यक्तिगत शिक्षा भनिन्छ ।
- व्यक्तिगत शिक्षाको मद्दतले व्यक्तिमा अन्तर्निहित क्षमता र प्रतिभा प्रष्फुटन गर्न सुवर्ण अवरण प्राप्त हुने गर्दछ । आधुनिक युगमा व्यक्तिगत शिक्षालाई विशेष जोड दिइएको पाइन्छ ।
(ii) सामूहिक शिक्षा
- व्यक्तिको सामूहिक आवश्यकता सामूहिक भावना, सामुहिक चाहना सामुहिक स्वार्थलाई ख्याल गरेर प्रदान गरिने शिक्षा सामूहिक शिक्षा हो । देशको राष्ट्रिय उद्देश्य पूर्ति गर्नका लागि औपचारिक संघ-संस्थाबाट औपचारिक रुपमा नै प्रदान गर्ने शिक्षा नै सामुहिक शिक्षा हो । कक्षा शिक्षकले थुप्रै विद्यार्थीहरुलाई एकैपटक सामुहिक रुपमा एकैपटक प्रदान गरिने शिक्षा सामूहिक शिक्षा हो ।

औपचारिक, अनौपचारिक र अनियमित शिक्षा

(i) औषचारिक शिक्षा
- निश्चित पाठ्यक्रमको आधारमा तह निधारण गरी विद्यालय तथा महाविद्यालयमा प्रदान गरिने शिक्षालाई औपचारिक शिक्षा
भनिन्छ ।
- औपचारिय शिक्षा पूर्वयोजनाको आधारमा निश्चित समय र स्थानमा निश्चित उद्देश्य प्राप्तिका लागि निश्चित व्यक्ति तथा संस्थाद्वारा प्रदान गरिन्छ । औपचारिक शिक्षा विश्वभरीका विद्यालय, विश्वविद्यालय, चलचित्र भवन, धार्मिक संघ-संस्था आदिमा प्रभावकारीरुपमा प्रचलनमा रहेको छ ।
औपचारिक शिक्षा का विशेषताहरु:
  • पूर्वयोजना अनुकल निर्दिष्ट उद्देश्य प्राप्तिका लागि प्रदान गरिने,
  • निश्चित समय, साधन, श्रोत, जनशक्ति, स्थान आदिको महत्त्वपूर्ण भूमिका हुने,
  • खर्चिलो, कधनयुक्त र सिर्जनशीलताको बाधक शिक्षा,
  • निश्चित तहगत संरचना, परीक्षा प्रणाली र समयतालिकाको व्यवस्था,
  • उत्तीर्ण, अनुत्तीर्ण घोषित गर्ने, श्रेणी छुट्याउने र प्रमाणपत्र प्रदान गर्ने व्यवस्था,
  • निश्चित विषयवस्तु एवम् ज्ञान, सीप निश्चित पद्धति अनुसार प्रदान गरिने,
  • पाठ्यक्रम पाठ्यपुस्तक एवम् पाठ्यसामग्री र शिक्षणसिकाइ तरिका समेत निर्धारित हुने,
  • अध्ययनरत विद्यार्थीहरु औपचारिक रुपमा पास, फेल हुने ।
अनौपचारिक शिक्षा
मानव जीवनको निश्चित आवश्यकता पूरा गर्न, निश्चित समय निर्धारण गरी निश्चित स्थानमा अनौपचारिक वा अतिरिक्त शिक्षा, प्रदान गरिन्छ । शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, परिवार नियोजन, आयआर्जन, कृषिका उपयुक्त उपायहरु प्राथमिक उपचार, सरुवा रोग आदिसम्बन्धी कुरामा आवश्यक ज्ञान उपलब्ध गराउन तथा चेतना जागरण गराउन औपचारिक शिक्षाबाट सहयोग पुग्दछ ।
अनौपचारिक शिक्षाका विशेषताहरु
  • सर्वव्यापी बन्धनरहित शिक्षा
  • कठोर योजनामुक्त, लचिलो र फराकिलो शिक्षा
  • उद्देश्य, नियम, स्थान र समयसिमा नहुने शिक्षा
  • जीवनपर्यन्त चलिरहने व्यापक शिक्षा
  • सबै वर्ग, तह, पेसा र उमेरका मानिसहरूलाई प्रदान गरिने कम खर्चिलो एवं सदावहार शिक्षा ।
  • व्यक्तिको आवश्यकता, रुची र चाहनाअनुसार दिइने शिक्षा
  • हरेक उमेर र अवस्थाका व्यक्तिले लिन सक्ने शिक्षा
  • औपचारिक पाठ्यक्रम रहने र औपचारिक प्रमाणपत्र दिने शिक्षा
  • व्यक्तिलाई सुखी जीवन यापन गर्न मार्गनिर्देशन दिने शिक्षा
(iii) अनियमित शिक्षा
अनियमित शिक्षा औपचारिक शिक्षाको विपरित शिक्षा हो । व्यक्तिले कुनै पनि उमेर, अवस्था परिस्थिति स्थान, समयमा जे जसरी र जसबाट अनियमित रुपमा सिक्दछ, त्यसलाई अनियमित शिक्षा भनिन्छ । के-कसरी शिक्षा लिने, कहिले र कहाँबाट शिक्षा लिने भन्ने कुराको टुङ्गो बिना नै अप्रत्याशित रुपमा प्राप्त हुने कुनै पनि शिक्षा अनियमित शिक्षा हो ।
अनियमित शिक्षाका विशेषताहरु
  • बन्धनमुक्त जीवनोपयोगी शिक्षा,
  • क्रियाकलापमुखी र अनुभवकेन्द्रित शिक्षा,
  • देशकाल र परिवेशमुक्त शिक्षा,
  • शिक्षा/विद्यालय/महाविद्यालय वा कुनै संगठित संस्थाको परिधिभित्र मात्र सिमित नहुने,
  • सिकारुको रुची र सक्रियतामा सिकाइ निर्भर रहने ।
  • शिक्षाको स्वरुपमा ज्यादै पुरानो पद्धति ।
  • शिक्षाको उद्देश्य तथा योजनाहरु पूर्व निर्धारित नहुने ।
  • अनियमित शिक्षा जुनसुकै अवस्थामा चल्न सक्ने ।
  • औपचारिक पाठ्यक्रम, शिक्षा विधि, सामग्री, मूल्याङ्कन आदिको कुनै अर्थ नरहने ।

शिक्षाका उद्देश्यहरू

शिक्षा समाजको आधारशिला हो । शिक्षा मानव समाजको आधारशिला भएकाले समाजको उत्थान, विकास, प्रवर्द्धन, अभिवृद्धि शिक्षाको उद्देश्यमा निर्भर रहेका हुन्छन् । समाजको आवश्यकता एवम् चाहना अनुसार शिक्षाको लक्ष्य र उद्देश्य पनि हुन्छ । यदि शिक्षाको लक्ष्य स्पष्ट छ भने व्यक्तिका कियाकलापहरु निरन्तर चलिरहन्छन् । जबसम्म शिक्षाको लक्ष्यमा पुगिदैन तबसम्म उद्देश्यमा परिवर्तन भइरहन्छ ।
शिक्षाको उद्देश्य उत्तम, निश्चित र समयानुकुल भएमा शिक्षाको उद्देश्य प्राप्त गर्न ठूलो सहयोग पुग्दछ । शिक्षा गतिशील प्रक्रिया हो, जसले मानवको विगत, वर्तमान र भविष्यको बारेमा दिशा बोध गराउँछ । शिक्षा व्यक्ति र समाजकै लागि सञ्चालन प्रत्येक राष्ट्रमा समय परिस्थिति, जनजीवनका आवश्यकता र आकांक्षाअनुरुप शिक्षाका उद्देश्यहरु निर्माण तथा परिवर्तन हुने गर्दछन् । शिक्षाका उद्देश्यलाई व्यक्तिगत र सामाजिक उद्देश्य गरी दुई भागमा विभाजन गरिएको पाइन्छ ।

शिक्षाको व्यक्तिगत उद्देश्य

शिक्षाको व्यक्तिगट उदेश्यले व्याक्तिमा भएको आन्तरिक क्षमतालाई पूर्णरूपले विकसित गराई व्यक्तित्व विकासमा जोड दिन्छ ।
१. व्यक्तिका आन्तरिक क्षमताको पूर्ण विकास गरी व्यक्तित्व विकास गर्नु ।
२. परम्परागत अनुभव र सिकाईबाट असल चरित्र निर्माण गर्नु ।
३. मानवीय गुण सिकाई समाजमा प्रतिष्ठित बनाउनु ।
४. पारिवारिक चालचलन र रीतिरिवाज सिकाउनु ।
५. व्याक्तिका शारीरिक, मानसिक, बौद्धिक र संवेगात्मक पक्षको विकास गर्नु ।
६. व्याक्तिको जीवनको अवसर र सम्भावनालाई फराकिलो बनाउनु ।
७. समाजमा मिलेर बस्न सक्ने गुणको विकास गराउनु ।
८. व्यक्तित्व विकास गरी सक्षम र सबल नागरिक तयार पार्नु ।
९. आ-आफ्नो बौद्धिक विकास गर्ने उद्देश्य अनुरुप विचार र कल्पना शक्तिको विकास गर्नु ।
१०. कर्तव्यपरायन, परिश्रमी र लगनशील बानीको विकास गर्नु ।
११. नैतिक आचरणको विकास गरी आत्मालोचना, आत्मूल्याङ्कन आत्मचेतना विकास गर्नु ।
१२. सदाचार, सच्चरित्रको निर्माण गर्दै आन्तरिक दक्षता र व्यक्तित्वको विकास गरी एकता कायम गर्नु ।

शिक्षाको सामाजिक उद्देश्य

- शिक्षाले नागरिकमा असल गुणको विकास गर्छ । यस्ता असल गुणहरूको विकास गर्दै आफ्नो अस्तित्त्व रक्षा गरेर अन्तर्राष्ट्रिय समझदारी र भातृत्व विकास गराउनुलाई शिक्षाको सामाजिक उद्देश्य मानिन्छ । समसामयिक राजनीतिक, सामाजिक तथा आर्थिक स्थितिले गर्दा शिक्षाका सामाजिक उद्देश्यहरू परिवर्तन भइरहन्छन् ।
- सामाजिक आवश्यकता, सामाजिक मूल्य र मान्यता अनुरुप सञ्चालित शिक्षाका लक्ष्य र उद्देश्यलाई सामाजिक उद्देश्य भनिन्छ । शिक्षा समाजका लागि भएकाले पनि समाजको विकास र विस्तार गर्ने खालको शिक्षाको सामाजिक उद्देश्य हुनुपर्छ ।
- समाजको भलाइका लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामाजिक हितका निम्ति आफ्नो इच्छा एवं अभिलाषा परिपूर्ति गर्नु शिक्षाको सामाजिक उद्देश्य हो । असल नागरिक बनाउनको लागि शिक्षा प्रदान गर्नुलाई पनि शिक्षाको सामाजिक उद्देश्य मानिन्छ । मानिस सामाजिक प्राणी भएकाले प्रत्येक बालबालिकालाई वर्तमान समयसापेक्ष बनाउनु, सामाजिक मूल्य, मान्यता र आदर्शअनुरूप संस्कृतिको बोध गराउनु शिक्षाको सामाजिक उद्देश्य हो ।
- सामाजिक एकता एवम् पारस्परिक सद्भावलाई प्रोत्साहित गर्दै सामाजिक भावनाको विकासमा जोड दिन नागरिकतासम्बन्धी कुशलता र व्यावसायिक कुशलता प्राप्त गर्नु शिक्षाको सामाजिक उद्देश्य हो । शिक्षाका सामाजिक उद्देश्यका प्रकारहरु निम्न छन् :
क) आत्मज्ञानको उद्देश्य: व्यक्ति एक सामाजिक प्राणी भएकाले समाजमा समायोजन गर्ने व्यक्तिमा आवश्यक पर्ने गुणहरू प्रतिभाहरु क्षमताहरू तथा भावनाको विकास हुनुपर्छ । शिक्षाले व्यक्तिलाई सामाजिक प्राणोको रुपमा विकास गर्न गराउन व्यक्तिको बौद्धिक परिपक्वता सौन्दर्य अनुभूति अभिरुची र जिज्ञासाको अभिवृद्धि, आत्मज्ञानको विकास र स्वस्थ मन
मस्तिष्कको विकासमा सहयोग गराउनुपर्दछ ।
ख) मानब सम्बन्ध सम्बन्धी उद्देश्य: मानिसले समाजबाट अनुभव प्राप्त गर्छ र त्यसलाई समाजकै लागि खर्च गर्छ । हरेकलाई एकापसमा सहयोग र सद्भावनाको आवश्यकता पर्दछ । शिक्षाले समाजमा समायोजनका लागि व्यक्तिको व्यक्तित्व विकास गराउँछ भने व्यक्तित्वको पहिचान उसको सामाजिक सम्बन्धबाट हुन्छ । शिक्षाले व्यक्तिमा विश्वबन्धुत्व र भातृत्वको विकास गरी उसलाई समाजका विभिन्न भूमिकाका लागि तयार गराउँछ ।मानिसको जीवनलाई सरल र सक्षम बनाउनु तथा व्यक्तिमा हामी र हाम्रो भन्ने भावना विकास गराउनुलाई पनि शिक्षाको सामाजिक उद्देश्य मानिन्छ ।
(ग) संस्कृतिको संरक्षणासम्बन्धी उद्देश्य: हरेक सभ्य समाजमा संस्कृतिको निर्माण भएको हुन्छ । यस्ता संस्कृतिको संरक्षण गरिनुपर्छ र मानवमूल्य र मान्यताहरूलाई सुरक्षा गर्दै सामाजिक संस्कृतिको विकास गर्नुपर्छ । यसर्थ शिक्षाको सामाजिक उद्देश्यभित्र संस्कृतिको रक्षा गरिनुपर्ने पक्ष समेटिएको हुनुपर्छ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०५५ मा पनि
शिक्षाको सामाजिक उद्देश्यभित्र संस्कृतिको संरक्षण गर्ने कुरालाई यसरी उल्लेख गरिएको छ - "राष्ट्रभाषा, राष्ट्रिय भाषा, संस्कृति, साहित्य, सौन्दर्य एवम् राष्ट्रिय सम्पदाको संरक्षण, संवर्द्धन र विकास गर्ने ।"
(छ) आर्थिक दक्षतासम्बन्धी उद्देश्य: जीवनका आधारभूत आवश्यकताहरू परिपूर्ति गर्न र जीविकोपार्जनका लागि सक्षम बनाउन व्यक्तिलाई आर्थिक दक्षताको ज्ञान हुनु आवश्यक छ । व्यक्तिको आर्थिक दक्षता वृद्धि भएमा समाज आर्थिक रूपले सवल बन्छ। आर्थिक दक्षता विकास गर्नका लागि व्यक्तिलाई कोरा सैद्धान्तिक ज्ञानका अतिरिक्त श्रमप्रति आस्था जगाई व्यावसायिक सीपहरूको विकास पनि गराउनुपर्छ । शिक्षाको सामाजिक उद्देश्यमा पनि बालकलाई आत्मनिर्भर हुन सक्ने व्यवसायिक सीप तालिम प्रदान गर्ने योजना समेटिएका हुन्छन् ।
घ. नागरिकताको ज्ञानसम्बन्धी उद्देश्य: व्यक्ति राष्ट्रपति जिम्मेवारी हुन्छ र उसले राष्ट्रको ऐन कानुन प्रति उत्तरदायित्व बहन गर्नुपर्छ । शिक्षाले व्यक्तिमा यस्तो उत्तरदायित्वप्रति सचेत गराई प्रजातान्त्रिक आदर्शप्रति सजग गराउने, नागरिक चेतना र राष्ट्रियताको बोध गराउने र राष्ट्रप्रति गौरव गर्ने क्षमताको विकास गराउँछ । शिक्षा नागरिकताको ज्ञानसँग सम्बन्धित उद्देश्य अन्तर्गत पनि राष्ट्रप्रति समर्पित उच्च नैतिक र सक्षम नेतृत्वदायी व्यक्तिको निर्माण गर्ने तथा प्रजातान्त्रिक मूल्य, मान्यता र मानव अधिकारको विकास गर्नेजस्ता उद्देश्य पर्दछन् । यसर्थ शिक्षाले व्यक्तिमा समाज र राष्ट्रप्रति व्यक्तिको दायित्व र कर्तव्यबोध गराउन सक्नुपर्छ ।
च) ज्ञान र प्रविधिको विकाससम्बन्धी उद्देश्य: मानिसले आफूले प्राप्त गरेका अनुभवहरू, बौद्धिक चेतना र ज्ञानको माध्यमबाट मानवीय ज्ञान र प्रविधिको क्षेत्रलाई व्यापक बनाएको हुन्छ । शिक्षाले मानिसका जातिगत अनुभवलाई संरक्षण गरी विश्वसम्बन्धी वास्तविकताको खोजलाई निरन्तरता दिने र मानव जीवनलाई गतिशील र सुखमय बनाउने कार्य गरेको हुन्छ । 
आजको युगमा पनि प्रविधिको विकासले मानिसको जीवनशैलीमा प्रत्यक्ष प्रभाव पारिरहेकाले शिक्षाले व्यक्तिमा अरु देशमा प्रयोग भएको प्रविधि अनुसरण गरी प्रयोग गर्न सक्ने र आफैले पनि नयाँ प्रविधिको खोज र अन्वेषण गर्न सक्ने क्षमताको विकास गराउनुपर्छ । शिक्षाको ज्ञान र प्रविधिको विकाससँग सम्बन्धित उद्देश्यमा यही कुरा समेटिएको हुन्छ।

शिक्षाका राष्ट्रिय उद्देश्यहरू

राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०६३ अनुसार

क. प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा र व्यक्तित्व विकासका सम्भावनालाई प्रस्फुटित गर्न सहयोग गर्ने ।
ख. प्रत्येक व्यक्तिमा निहित सार्वभौम मानवीय मूल्यका साथै राष्ट्रिय संस्कृति र अस्मिता, सामाजिक मान्यता र आस्थाहरूको सम्बर्द्धन गरी जीवन्त अनुभवहरू समेट्दै स्वस्थ सामाजिक तथा सामूहिक जीवन वृत्तिको विकास गर्न चरित्रवान् एवम् नैतिकवान् नागरिक तयार गर्ने ।
ग. स्थानीय, राष्ट्रियस्तरका पेसा, व्यवसाय एवम् रोजगारीका साथै आवश्यकता अनुसार अन्तर्राष्ट्रिय रोजगारीतर्फ उन्मुख उत्पादनमुखी र सिपयुक्त नागरिक तयार गर्न सहयोग गर्ने ।
घ. व्यक्तिको सामाजिकीकरणमा सहयोग गर्दै सामाजिक एकतालाई सुदृढ बनाउने ।
ङ. समाजको आधुनिकीकरणमा सहयोग र देश निर्माणका निम्ति मानव संसाधनको विकास गर्ने ।
च. प्राकृतिक वातावरण र राष्ट्रिय सम्पदाको संरक्षण र सदुपयोग गर्दै पर्यटन प्रबर्द्धनमा सहयोग गर्ने नागरिक तयार गर्ने ।
च. सामाजिक समानता र न्यायबारे चिन्तन गर्दै तदनुरूपको आचरण विकास गर्ने र समावेशी समाज निर्माणमा मद्दत गर्ने ।
ज. स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश अनुकूल शान्ति, मैत्री, सद्भाव, सहिष्णुता र विश्वबन्धुत्वको भावनाको विकास गरी तदनुरूपको आचरण गर्ने/गराउने र हरेक प्रकारका द्वन्द्व व्यवस्थापनका लागि सक्षम नागरिक तयार गर्ने ।
झ. आधुनिक सूचना प्रविधिसँग परिचित भई त्यसको प्रयोग गर्न सक्ने विश्व परिवेश सुहाउँदो दक्ष जनशक्ति तयार गर्ने ।
ञ. राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, मानवअधिकारप्रति सम्मान गर्ने, समालोचनात्मक तथा रचनात्मक सोच भएका, मितव्ययी, स्वाभिमानी तथा अरुलाई सम्मान गर्ने र आफू नेपाली भएकोमा गौरव गर्ने नागरिक तयार गर्ने ।
ट. नेपाली कला, सौन्दर्य, आदर्श तथा वैशिष्ट्यहरूको संरक्षण, सम्वर्द्धन र विस्तारतर्फ अभिप्रेरित नागरिक तयार गर्न मदत गर्ने ।
ठ. प्राकृतिक एवम् दैवी प्रकोपप्रति सचेत रही सम्भावित जोखिम न्यूनीकरण गर्न सक्षम नागरिक तयार गर्ने ।

तहगत सक्षमताहरू

पूर्व प्राथमिक शिक्षाका उद्देश्य

प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ तथा २०६५ ले तय गरेका पूर्व प्राथमिक तथा प्राथमिक शिक्षाका उद्देश्यहरू:
१. शारीरिक, संवेगात्मक, मानसिक, भाषिक र सामाजिक भावनाको विकासमा अवसर प्रदान गर्ने ।
२. सरसफाइ र सुरक्षासम्बन्धी बानी बसाल्न प्रेरित गर्ने ।
३. सामान्य शिष्टाचार गर्न अभिप्रेरित गर्ने ।
४. प्राथमिक शिक्षाका लागि पूर्वतयारी गराउने ।

पूर्वप्राथमिक बालविकास शिक्षाका उद्देश्य सक्षमताहरू

राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०६३ (परिमार्जित २०७१) बमोजिम आधारभूत तहमा बालबालिकाहरूको सरल समायोजनका लागि उनीहरूलाई सम्पूर्ण (शारीरिक तथा मनोवैज्ञानिक) रूपले तयार पार्नु बाल विकास शिक्षाको प्रमुख उद्देश्य हो । बालविकास शिक्षाका सक्षमताहरू निम्नलिखित छन् ।
१. बालबालिकाको सर्वागीण विकास
२. व्यक्तिगत सरसफाइ
३. सामाजिक बानी व्यवहार
४. विद्यालयप्रति सकारात्मक धारणा
५. आधारभूत शिक्षाको तयारी

प्राथमिक शिक्षाका तहगत उद्देश्यहरू

१. राष्ट्र राष्ट्रिय एकता र लोकतान्त्रिक संस्कारको भावना पैदा गराई नैतिकता, अनुशासन र स्वावलम्बन जस्ता सामाजिक एवम चारित्रिक गुणको विकास गर्ने ।
२. आधारभूत भाषिक तथा गणितीय सिप विकास गर्ने ।
३. विज्ञान, सूचना प्रविधि, वातावरण र स्वास्थ्यसम्बन्धी आधारभूत ज्ञान तथा जीवनोपयोगी सिपको विकास गर्ने ।
४. कला, सौन्दर्यप्रति अभिरुचि जगाई सिर्जनशील सिपको विकास गर्ने ।
५. विभिन्न जातजाति, धर्म, भाषा, संस्कृति र क्षेत्रप्रति सद्भाव जगाई समावेशी समाजको निर्माणमा सहयोग पुयाउने ।
६. मानवअधिकार तथा सामाजिक मूल्य मान्यताप्रति सचेत भई जिम्मेवारपूर्ण आचरणको विकास गर्ने ।
शैक्षिक संरचनाअनुसार कक्षा ६-८ सम्मको शिक्षालाई निम्नमाध्यमिक शिक्षा भनिन्छ । वर्तमान शिक्षा नीतिअनुरूप कक्षा १-८ सम्मलाई आधारभूत शिक्षाका रूपमा लिइएको र आधारभूत शिक्षा अन्तर्गत कक्षा ६-८ को पाठ्यक्रम परिमार्जनको क्रममा साविकको निमावि तहको तहगत उद्देश्यको सट्टामा आधारभूत शिक्षाको तहगत सक्षमताहरू निर्धारण गरी लागू भइसकेका छन् ।

आधारभूत शिक्षा (१-८) का तहगत सक्षमताहरू

आधारभूत शिक्षाले विद्यार्थी केन्द्रित शिक्षाका माध्यमद्वारा बाल बालिकामा अन्तर्निहित प्रतिभाको विकास गर्नुपर्छ । यसको मूल उद्देश्य राष्ट्र र लोकतन्त्रमा विश्वास गरी राष्ट्रियताको संरक्षण र संवर्धन गर्ने, अधिकार र कर्तव्यको पालनासहित स्वतन्त्रताको सम्मान गर्ने र सामाजिक र प्राकृतिक वातावरणप्रति सचेत भई मानवीय मूल्य र मान्यता अनुकूल व्यवहार गर्ने कर्तव्यनिष्ठ नागरिक उत्पादन गर्नु हो । यस तहको शिक्षा ग्रहण गरिसकेका बालबालिकाहरू आफ्ना विचारहरू आदानप्रदान गर्न सक्षम, स्वावलम्बी, परिश्रमी, वैज्ञानिक सुझबुझ भएका, स्वास्थ्यप्रति सचेत र नैतिकवान् हुने छन् । आधारभूत शिक्षाका सक्षमताहरू निम्नबमोजिम हुनेछन् :
१. भाषिक, तार्किक तथा व्यावहारिक गणितीय सिप विकास र प्रयोग ।
२. सूचना र विचारहरू को आदानप्रदान, विश्लेषण तथा सूचना प्रविधिको प्रयोग ।
३. जनसङ्ख्या, वातावरण र दिगो विकासको व्यवस्थापनमा सहयोग ।
४. वैज्ञानिक अवधारणा, तथ्य, सिप, सिद्धान्त, नियम र खोज तथा अनुसन्धानको उपयोग एवम् प्रकृति र जीवबिचको अन्तरसम्बन्ध बोध ।
५. स्वस्थ, नैतिक र असल सामाजिक व्यवहारको विकास ।
६. स्थानीय र आधुनिक पेसा, व्यवसाय र प्रविधिप्रति सम्मान तथा सामान्य व्यावसायिक सिपको प्रयोग ।
७. कला र संस्कृतिको संरक्षण तथा संवर्धन ।
८. व्यावहारिक जीवनमा आइपर्ने समस्याको पहिचान, विश्लेषण तथा समाधान ।

माध्यमिक शिक्षाका तहगत उद्देश्यहरू 

(पाठ्यक्रम प्रारूप २०६३ समेतका आधारमा २०६४ मा निर्धारण गरी लागु गरिएको)
१. देशको बहुसांस्कृतिक र लोकतान्त्रिक मूल्य मान्यताप्रति गर्व गर्दै सकारात्मक धारणाको विकास गर्ने ।
२. राष्ट्रिय विकासका लागि सक्षम, आत्मनिर्भर, सिपमूलक र तालिम प्राप्त मानव स्रोत उत्पादन गर्ने ।
३. इमानदारी, आत्मनिर्भरता, रचनात्मक, परिश्रमीपन, सहयोगीपन, समूहमा काम गर्ने बानी, जवाफदेहिता, आत्मविश्वास जस्ता गुणको विकास गर्ने ।
४. दैनिक क्रियाकलाप र सामाजिक जीवनमा सक्रिय सहभागिताका लागि सुनाइ, बोलाइ, पढाइ र लेखाइजस्ता भाषिक क्षमताको विकास गर्ने ।
५. दैनिक जीवनमा आइपर्ने समस्या समाधानका लागि उपयुक्त ज्ञान तथा सिपको विकास गर्ने ।
६. राष्ट्रिय विकासका लागि राष्ट्रिय एकता, सौहार्द र शान्ति कायम गर्न जातीय र सांस्कृतिक विविधताको महत्त्व बोध गराउन राष्ट्रिय इतिहास, संस्कृति, भूगोल, अर्थशास्त्र, वातावरणसँग परिचित गराउने ।
७. प्राविधिक र व्यावसायिक सिप विकास गर्नु र श्रमप्रति सम्मान गर्न सिकाउने ।
८. आत्मनिर्भर हुन, जीवन निर्वाहका लागि आयआर्जन गर्न सक्ने क्षमता र सामान्य व्यावसायिक सिपको विकास गर्ने ।
९. मानवअधिकार, सामाजिक न्याय, लोकतन्त्रको मर्म र भावना बुझी सोअनुसार अभ्यास गर्ने ।
१०. लिङ्ग, अपाङ्गता, सामाजिक, आर्थिक, भौगोलिक, जातीय र सांस्कृतिक विविधताका आधारमा हुने वैयक्तिक विभिनतको सम्मान गर्ने र जातजाति, छुवाछुत जस्ता सामाजिक कुरीतिहरू प्रति सचेत रही समावेशी समाज निर्माणमा सक्रिय रहने ।
११. रचनात्मक ज्ञान र सिपको विकास गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय चुनौतिहरूको सामना गर्न स्वतन्त्रता, समालोचनात्मक सोचाइ विश्लेषणात्मक सिपको विकास गर्ने ।
१२. राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता आर्जन गर्ने ।

राष्ट्रिय पाठ्यक्रम प्रारूप २०६३ (परिमार्जन २०७१) बमोजिम माध्यमिक शिक्षा (९-१२) का तहगत सक्षमताहरू

ज्ञानको खोजी गरी सिकाइ र वास्तविकताबीच सम्बन्ध स्थापित गर्ने, सिद्धान्त र व्यवहारको समन्वय गर्ने, स्वपरावर्तित हुँदै ज्ञान, सिप र क्षमतालाई अद्यावधिक गर्ने, अधिकार, स्वतन्त्रता र समानताको प्रबर्द्धन गर्ने, स्वस्थ जीवनको अभ्यास गर्ने, तार्किक विश्लेषण गरी निर्णय गर्ने, वैज्ञानिक विश्लेषणका आधारमा व्यक्ति, समाज र राष्ट्रको दिगो विकासमा सरिक हुने, नैतिक आचरण प्रदर्शन गर्ने, सामाजिक सद्भावप्रति संवेदनशील हुने, पर्यावरणीय सन्तुलनप्रति संवेदनशील हुने, द्वन्द्व व्यवस्थापन गर्दै दिगो शान्तिका लागि प्रतिबद्ध रहने, आधुनिक ज्ञान, सिप, सूचना, सञ्चार र प्रविधिको प्रयोग गर्ने, स्वावलम्बी र व्यवसायमुखी सिपको अभ्यास गर्ने, राष्ट्र, राष्ट्रियता र राष्ट्रिय आदर्शको सम्मान गर्ने, समाज स्वीकार्य आचरण र कार्य संस्कृतिको अवलम्बन गर्ने, सहिष्णुभाव राख्ने, सिर्जनशील, कल्पनाशील, उद्यमशील एवम् उच्च सोच र आदर्शमा आधारित व्यवहार गर्ने, समसामयिक चुनौतीहरूको सफल व्यवस्थापन गर्ने लगायतका विशेषताले युक्त स्वावलम्बी, देशभक्त, परिवर्तनमुखी, चिन्तनशील एवम् समावेशी समाज निर्माणमा योगदान गर्न सक्ने नागरिक तयार गर्नु माध्यमिक शिक्षाको मार्गदर्शन हो । यसका लागि माध्यमिक तहका विद्यार्थीहरूमा निम्नानुसारका सक्षमता विकासको अपेक्षा गरिएको छ:
१. मानवीय मूल्य, मान्यता र लोकतान्त्रिक संस्कार अवलम्बन गर्दै राष्ट्र र राष्ट्रियताको प्रवर्धनका लागि सचेत नागरिकको जिम्मेवारी वहन,
२. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशसँग परिचित भई विविधता, सद्भाव र सह-अस्तित्वलाई आत्मसात गर्दै सभ्य, सु-संस्कृत र समतामूलक समाज निर्माणका लागि भूमिका निर्वाह,
३. दैनिक क्रियाकलापमा आत्मविश्वासका साथ सिपको प्रयोग,
४. प्रभावकारी सिकाइ, रचनात्मक र विश्लेषणात्मक सोच तथा सामाजिक सम्पर्क र सञ्चारबाट विचारहरूको आदान प्रदान,
५. दैनिक व्यवहारमा आइपर्ने गणितीय समस्या पत्ता लगाई समाधान गर्ने क्षमताको विकास,
६. जीवन जगत् र व्यवहारसँगको तादात्म्य बोध गरी समाज सापेक्ष व्यवहार निर्माण,
७. स्वास्थ्यप्रतिको सचेततासहित वातावरण संरक्षण र सम्बर्धन तथा जनसङ्ख्या व्यवस्थापनमा सक्रिय सहभागिता,
८. प्राकृतिक तथा सामाजिक घटना विश्लेषण, तिनको असर बोध तथा सकारात्मक व्यवहार प्रदर्शन
९. विज्ञान र समाजको अन्तरसम्बन्ध पहिचानसहित समसामयिक प्रविधिलाई व्यावसायिक प्रवर्धन र मानव हितमा प्रयोग,
१०. वैज्ञानिक खोज तथा अनुसन्धान गर्न आवश्यक प्रक्रियागत सिपहरू हासिल गरी आधुनिक प्रविधिहरूको दैनिक जीवनमा प्रयोग,
राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ अनुसार विद्यालय शिक्षाका राष्ट्रिय उद्देश्यहरु (१२ बटा)
१. प्रत्येक व्यक्तिमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व विकास गर्ने,
२. सङ्घीय लोकतान्त्रिक गणतन्त्रका मूल्य तथा मान्यताप्रति प्रतिबद्ध, राष्ट्र र राष्ट्रियताप्रति बफादार, स्वाभिमानी, सामाजिक तथा सांस्कृतिक विविधतालाई सम्मान गर्ने चरित्रवान, नैतिकवान एवम् जिम्मेवार नागरिक तयार गर्ने,
३. श्रमप्रति सम्मान एवम् सकारात्मक सोच भएका, रोजगार तथा स्वरोजगार उन्मुख, उत्पादनमुखी, उद्यमशील र सिपयुक्त नागरिक तयार गर्ने,
४. व्यक्तिको सामाजिकीकरणमा सहयोग गर्दै सामाजिक सद्भाव तथा सहिष्णुता र राष्ट्रिय एकता सुदृढ गर्न सहयोग पुयाउने,
५. प्राकृतिक तथा राष्ट्रिय सम्पदा र पर्यावरणको संरक्षण, संवर्धन र सदुपयोग गर्दै दिगो विकासमा योगदान गर्ने सचेत नागरिक तयार गर्ने,
६. प्रत्येक व्यक्तिमा शान्ति, मानवअधिकार, समानता, समावेशीता र सामाजिक न्यायका मान्यता अनुरुपको आचरण विकास गरी समतामूलक, समावेशी, न्यायपूर्ण र समाजवाद उन्मुख राष्ट्र निर्माणमा मद्दत गर्ने,
७. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी, आधुनिक सूचना तथा सञ्चार प्रविधि प्रयोग गर्न सक्ने विश्व परिवेश सुहाउँदो दक्ष जनशक्ति तयार गर्ने,
८. वैज्ञानिक अवधारणा, तथ्य, सिप, सिद्धान्त तथा प्रविधिको प्रयोग गर्न सक्ने वैज्ञानिक सुझबुझ भएका र खोज तथा अनुसन्धानमुखी जनशक्ति तयार गर्ने,
९. रचनात्मक तथा समालोचनात्मक चिन्तन गर्ने, जीवनोपयोगी सिप भएका, सहिष्णु र भाषिक सक्षमतामा निपूर्ण नागरिक तयार गर्ने,
१०. नेपाली मौलिक कला, संस्कृति, सौन्दर्य, आदर्श तथा वैशिष्ट्यहरुको संरक्षण, संवर्धन र विस्तारतर्फ अभिप्रेरित भई नेपाली पहिचानप्रति गौरव गर्ने नागरिक तयार गर्ने,
११. जलवायु परिवर्तन तथा प्राकृतिक एवम् मानव सिर्जित प्रकोपप्रति सचेत रही सम्भावित जोखिम न्यूनीकरण तथा विपद व्यवस्थापन गर्न सक्षम नागरिक तयार गर्ने,
१२. सामाजिक न्यायमा आधारित समद्ध राष्ट्र निर्माणका निम्ति आवश्यक मानव संसाधनको विकास गर्ने ।

राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ अनुसार तहगत सक्षमताहरु

आधारभूत शिक्षा (कक्षा १-८) का सक्षमताहरू

१. देशप्रेम र राष्ट्रिय एकताको भावनाबाट ओतप्रोत एवम् लोकतान्त्रिक मूल्य, मान्यता र संस्कारको विकास व्यवहारमा प्रदर्शन,
२. भाषिक तथा सञ्चार सिपको विकास र व्यावहारिक, सिर्जनात्मक एवम् सान्दर्भिक प्रयोग,
३. सूचना र विचारहरूको आदानप्रदान, विश्लेषण तथा सूचना प्रविधिको समुचित प्रयोग,
४. तार्किक तथा व्यावहारिक गणितीय ज्ञान, सिप एवम अभिवृत्ति विकास र प्रयोग,
५. वैज्ञानिक अवधारणा, तथ्य, सिद्धान्त र नियमप्रतिको जिज्ञासा एवम् बोध र व्यावहारिक जीवनमा प्रयोग,
६. मानवमूल्य र मान्यता एवम् सामाजिक गुणको विकास तथा नागरिक कर्तव्यप्रति सजग,
७. जनसङ्ख्या, वातावरण संरक्षण र दिगो विकासविचको अन्तरसम्बन्धको बोध र व्यवस्थापनमा सहयोग,
८. शारीरिक तन्दुरुस्ती, स्वस्थकर जीवनशैली र जीवनोपयोगी सिप (Life Skills) को विकास,
९. स्थानीय, आधुनिक पेसा, व्यवसाय र प्रविधि एवम् श्रमप्रति सम्मान तथा व्यवहारकुशल सिप (Soft Skills) को प्रयोग,
१०. नेपाली कला, साहित्य र संस्कृतिको संरक्षण तथा संवर्धन एवम् सिर्जनशीलताको विकास र प्रयोग,
११. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशसँग परिचित भई विविधता, विश्वबन्धुत्व र सहअस्तित्व बोध तथा स्वीकार,
१२. दैनिक जीवनमा आइपर्ने व्यावहारिक समस्याहरूको पहिचान, विश्लेषण तथा समाधान,
आधारभूत शिक्षा (कक्षा १-३) का सक्षमताहरू
१. आधारभूत भाषिक तथा सञ्चार सिपको विकास र प्रयोग,
२. आधारभूत गणितीय अवधारणा र सिपको विकास र प्रयोग,
३. अनुशासन, सदाचार र स्वावलम्बन जस्ता सामाजिक एवम् चारित्रिक गुणको विकास,
४. विज्ञान, वातावरण, सूचना प्रविधिसम्बन्धी आधारभूत ज्ञानको विकास,
५. शारीरिक तन्दुरुस्ती, स्वस्थकर बानी र जीवनोपयोगी सिप (Life Skills) को विकास,
६. कला तथा सौन्दर्यप्रति अभिरुचि र सिर्जनात्मकताको विकास,
७. आफ्नो परिवेशसँग परिचित भई विभिन्न जातजाति, धर्म, भाषा, संस्कृति, क्षेत्रप्रति सम्मान र समभावको विकास,

आधारभूत शिक्षा (कक्षा ४-५) का सक्षमताहरु

१. देशप्रेमको भावना एवम् लोकतान्त्रिक मूल्य मान्यता र संस्कारको विकास,
२. आधारभूत भाषिक तथा सञ्चार सिपको विकास र व्यावहारिक प्रयोग
३. आधारभूत गणितीय अवधारणा र सिपको विकास र प्रयोग,
४. नैतिकता, अनुशासन, सदाचार र स्वावलम्बन जस्ता सामाजिक मूल्य मान्यता एवम् चारित्रिक गुणको विकास,
५. विज्ञान, वातावरण, सूचना प्रविधिसम्बन्धी आधारभूत ज्ञान र सिपको विकास, 
६. शारीरिक तन्दुरुस्ती, स्वस्थकर बानी, सरसफाइ र जीवनोपयोगी सिप (Life skils) तथा व्यवहारकुशल सिप (Soft Skills) को विकास,
७. कला तथा सौन्दर्यप्रति अभिरुचि, सिर्जनात्मक र समालोचनात्मक सिपको विकास,
८. आफ्नो परिवेशसँग परिचित भई विभिन्न जातजाति, धर्म, भाषा, संस्कृति, क्षेत्रप्रति सम्मान र समभावको विकास ।

आधारभूत शिक्षा (कक्षा ६-८) सक्षमताहरू

१. देशप्रेम एवम् राष्ट्रिय एकताको भावनाको विकास,
२. लोकतान्त्रिक मूल्य मान्यता र संस्कारको विकास र विविधताप्रति सम्मान
३. भाषिक तथा सञ्चार सिपको विकास र व्यावहारिक, सिर्जनात्मक एवम् सान्दर्भिक प्रयोग,
४. सूचना र विचारहरूको आदानप्रदान, विश्लेषण तथा सूचना प्रविधिको समुचित प्रयोग,
५. तार्किक तथा व्यावहारिक गणितीय ज्ञान, सिप र अभिवृत्तिको विकास र प्रयोग,
६. वैज्ञानिक अवधारणा, तथ्य, सिद्धान्त र नियमप्रतिको जिज्ञासा एवम् बोध र व्यावहारिक जीवनमा प्रयोग,
७. नैतिकता, अनुशासन, सदाचार, स्वावलम्बन जस्ता सामाजिक र मानवमूल्य, मान्यता एवम् चारित्रिक र नागरिक गुणको विकास,
८. जनसङ्ख्या, वातावरण संरक्षण र दिगो विकासबिचको अन्तरसम्बन्धको बोध एवम् व्यवस्थापनमा सहयोग,
९. शारीरिक तन्दुरुस्ती, स्वस्थकर जीवनशैली र जीवनोपयोगी सिप (Life Skills) विकास,
१०. स्थानीय र आधुनिक पेसा, व्यवसाय र प्रविधि र श्रमप्रति सम्मान तथा व्यवहारकुशल सिप (Soft skills) को प्रयोग,
११. नेपाली कला, साहित्य र संस्कृतिको संरक्षण तथा संवर्धन एवम् सिर्जनशीलताको प्रयोग,
१२. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक तथा भौगोलिक परिवेशसँग परिचत भई विविधता, सद्भाव र सहअस्तित्व बोध तथा स्वीकार,
१३. दैनिक जीवनमा आइपर्ने व्यावहारिक समस्याहरूको पहिचान, विश्लेषण तथा समाधान ।

माध्यमिक शिक्षा (कक्षा ९-१२) का सक्षमता

१. मानवीय मूल्य, मान्यता र लोकतान्त्रिक संस्कार अवलम्बन गर्दै राष्ट्र र राष्ट्रियताको प्रवर्धनका लागि सचेत नागरिकको जिम्मेवारी बहन,
२. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशसँग परिचित भई विविधता, सद्भाव र सहअस्तित्वलाई आत्मसात् गर्दै सभ्य, सुसंस्कृत र समतामूलक समाज निर्माणका लागि भूमिका निर्वाह,
३. दैनिक क्रियाकलापका साथै प्राज्ञिक क्षेत्रमा आत्मविश्वासका साथ उपयुक्त, सिर्जनात्मक र सान्दर्भिक रूपमा भाषिक सिपको प्रयोग,
४. प्रभावकारी सिकाइ, रचनात्मक र विश्लेषणात्मक सोच तथा सामाजिक सम्पर्क र सञ्चारबाट विचारहरूको आदान प्रदान,
५. व्यक्तिगत विकास र आवश्यकताको परिपूर्तिका लागि सिकाइप्रति सकारात्मक सोचको विकास तथा स्वअध्ययन एवम् ज्ञान र सिपको खोजी गर्ने बानीको विकास,
६. गणितीय समस्या समाधानमा गणितीय अवधारणा, सिद्धान्त तथा तार्किक सिपको प्रयोग,
७. व्यावहारिक गणितीय ज्ञान र सिपको बोध र प्रयोग,
८. वैज्ञानिक ज्ञान, तथ्य, सिद्वान्त र प्रविधिको समुचित प्रयोग,
९. जीवनजगत् र व्यवहारसँगको तादात्म्य बोध गरी जीवनोपयोगी सिप (Life Skill) को प्रयोग गर्दै समाज सापेक्ष व्यवहार प्रदर्शन
१०. स्वास्थ्यप्रतिको सचेततासहित वातावरण संरक्षण र संवर्धन तथा जनसङ्ख्या व्यवस्थापनमा सक्रिय सहभागिता,
११. प्राकृतिक तथा सामाजिक घटनाको विश्लेषण, तिनको कारण र असर बोध तथा सकारात्मक व्यवहार प्रदर्शन,
१२. वैज्ञानिक खोज तथा अनुसन्धान गर्न आवश्यक प्रक्रियागत सिपहरू हासिल गरी आधुनिक प्रविधिहरूको दैनिक जीवनमा प्रयोग,
१३. श्रमप्रति सम्मान गर्दै कामको संसारमा आत्मविश्वाससाथ तयारी,
१४. प्राविधिक ज्ञान, सिप, प्रवृत्ति तथा पेसागत र व्यवस्थापकीय क्षमताको विकास र प्रयोग,
१५. उच्च तहमा अध्ययनको आधार विकास ।

माध्यमिक शिक्षा (कक्षा ९-१०) का सक्षमताहरू

१. मानवीय मूल्य, मान्यता र लोकतान्त्रिक संस्कार अवलम्बन गर्दै राष्ट्र र राष्ट्रियताको प्रवर्धनका लगि सचेत नागरिकको जिम्मेवारी बहन,
२. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशसँग परिचित भई विविधता, सद्भाव र सहअस्तित्वलाई आत्मसात् गर्दै सभ्य, सुसंस्कृत र समतामूलक समाज निर्माणका लागि भूमिका निर्वाह,
३. दैनिक क्रियाकलापमा आत्मविश्वासका साथ उपयुक्त र सान्दर्भिक रूपमा भाषिक सिपको प्रयोग,
४. प्रभावकारी सिकाइ, रचनात्मक र विश्लेषणात्मक सोच तथा सामाजिक सम्पर्क र सञ्चारबाट विचारहरूको आदान प्रदान,
५. गणितीय समस्या समाधानमा गणितीय अवधारणा, सिद्धान्त तथा तार्किक सिपको प्रयोग,
६. जीवनजगत् र व्यवहारसँगको तादात्म्य बोध गरी जीवनोपयोगी सिप (Life skills) को प्रयोग गर्दै समाज सापेक्ष व्यवहार,
७. स्वास्थ्यप्रतिको सचेततासहित वातावरण संरक्षण र संवर्धन तथा जनसङ्ख्या व्यवस्थापनमा सक्रिय सहभागिता,
८. प्राकृतिक तथा सामाजिक घटनाको विश्लेषण, तिनको असर बोध तथा सकारात्मक व्यवहार प्रदर्शन,
९. वैज्ञानिक खोज तथा अनुसन्धान गर्न आवश्यक प्रक्रियागत सिपहरू हासिल गरी आधुनिक प्रविधिहरूको दैनिक जीवनमा प्रयोग,
१०. श्रमप्रति सम्मान गर्दै कामको संसारको तयारी,
११. प्राविधिक ज्ञान, सिप, प्रवृत्ति तथा पेसागत र व्यवस्थापकीय क्षमताको विकास र प्रयोग ।

माध्यमिक शिक्षा (कक्षा ११-१२) का सक्षमताहरू

१. मानवीय मूल्य, मान्यता र लोकतान्त्रिक संस्कार अवलम्बन गर्दै राष्ट्र र राष्ट्रियताको प्रवर्धनका लागि सचेत नागरिकको जिम्मेवारी बहन,
२. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशसँग परिचित भई विविधता, सद्भाव र सहअस्तित्वलाई आत्मसात् गर्दै सभ्य सुसंस्कृत र समतामूलक समाज निर्माणका लागि भूमिका निर्वाह,
३. दैनिक क्रियाकलापका साथै प्राज्ञिक क्षेत्रमा आत्मविश्वासका साथ उपयुक्त, सिर्जनात्मक र सान्दर्भिक रूपमा भाषिक एवम् सञ्चार सिपको प्रयोग,
४. व्यक्तिगत विकास र आवश्यकताको परिपूर्तिका लागि सिकाइप्रति सकारात्मक सोचको विकास तथा स्वअध्ययन एवम् ज्ञान र सिपको खोजी गर्ने बानीको विकास,
५. जीवन, जीविका र वृत्ति एवम् सामाजिक सांस्कृतिक व्यवहारसँग तादात्म्य बोध गरी जीवनोपयोगी सिप (Life Skill) को विकास,
६. स्वस्थ जीवनशैलीको अवलम्बन एवम् वातावरण संरक्षण र दिगो विकासका लागि भूमिका निर्वाह,
७. प्राकृतिक तथा सामाजिक घटनाको विश्लेषण, तिनको कारण र असर बोध तथा सकारात्मक व्यवहार प्रदर्शन,
८. श्रमप्रति सम्मान गर्दै कामको संसारमा आत्मविश्वासको साथ प्रवेश प्राविधिक ज्ञान, सिप, प्रवृत्ति तथा पेसागत र व्यवस्थापकीय क्षमताको विकास र प्रयोग,
९. उच्च तहमा अध्ययनको लागि विषयगत/विधागत आधार विकास

शिक्षाका कार्यहरू

- सामान्यतया शिक्षाले गर्ने कार्यलाई शिक्षाको कार्य भनिन्छ । मानिसलाई एउटा असल व्यक्ति र समाजको योग्य सदस्यका रुपमा जीवन निर्वाह गर्न सक्ने बनाउनु नै शिक्षाको कार्य हो ।
- शिक्षाले व्यक्ति, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा फरक फरक किसिमले कार्य गरिरहेको हुन्छ । शिक्षाको कार्य व्यक्ति, समाज, समय, परिस्थिति परिवेशमा आधारित हुन्छ । समाजको परिवर्तन, विज्ञान र प्रविधिको विकास, व्यक्तिको चाहना र आवश्यकतामा आउने परिवर्तनले शिक्षाको कार्य ज्यादै फराकिलो भएको हुन्छ । विभिन्न विद्वान दार्शनिक र शिक्षाविद्हरुले शिक्षाका कार्यबारे विभिन्न धारणाहरु प्रस्तुत गरेका छन् :
(क) समाजशास्त्रका पिता जर्ज पैन (E. George Payen) का अनुसार
१. परम्पराको आत्म साक्षात्कार
२. नयाँ सामाजिक ढाँचाको विकास
३. सिर्जनात्मक र रचनात्मक कार्य
(ख) समाजशास्त्री जे. एस. अवाकर (J.S. Brubacker) का अनुसार
१. परम्परागत कार्य
२. तटस्थ कार्य
३. प्रगतिशील कार्य
३. क्रान्तिकारी कार्य
(ग) समाजशास्त्री मुनरो (Munroe) का अनुसार
१. ज्ञानको प्रसारण
२. सामाजिक नियन्त्रण
३. सामाजिक सम्पदाको संरक्षण 
४. सामाजिक प्रगति
माथि शिक्षाका कार्यहरु फरक फरक भए तापनि तिनीहरुको मूल आशय वा मर्म भने मिल्दा छन् । शिक्षाको क्षेत्र व्यापक भएकाले यसको कार्य पनि व्यापक छ । शिक्षाले मानिसको व्यक्तिगत उन्नतिमा र समाजको विकासमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । शिक्षाले गर्दा नै हिजोको दासताको युगबाट आजको वैज्ञानिक युगसम्म आइपुग्न सफल भएको छ । शिक्षा निरन्तर चलिरहने एक गतिशील प्रक्रिया हो । सामान्यतया शिक्षाका कार्यहरु निम्न चार प्रकारका हुन्छन् :

शिक्षाको सांस्कृतिक कार्य

सामाजिक मूल्यमान्यता र मानवीय चालचलन, रहनसहन र जीवनशैलीलाई संस्कृति भनिन्छ । परम्परागत मान्यतामा चाहिं समाजले आर्जन गरेका विचार र चिन्तनद्वारा निर्मित मूल्य, मान्यता, विश्वास र चालचलनलाई संस्कृति मानिएको छ । हरेक समुदायमा भिन्नभिन्न संस्कृति हुने भए तापनि संस्कृति सबै समुदायको परिचय हो । शिक्षाले समाजको संस्कृतिलाई पहिचान गर्ने, सरक्षण गर्ने र भावी सन्ततिमा संस्कृति हस्तान्तरण गर्ने ज्ञान विकास गर्नुपर्छ । शिक्षाले संस्कृतिको रक्षा नगरेमा मौलिकता नासिन गई मानवीय मूल्यको अवमूल्यन हुन्छ । सांस्कृतिक कार्यलाई शिक्षाको सङ्कुचित कार्य मानिए तापनि संस्कृतिले व्यक्ति र समाजको पहिचान गराउँछ । त्यसैले संस्कृतिको विकासका माध्यमले समाजको प्रगति गराउने शिक्षाको कार्यलाई सांस्कृतिक कार्य भनिन्छ।
- शिक्षाको प्रमुख कार्य समाजको संस्कृतिलाई पहिचान गर्नु संरक्षण गर्नु भावी पुस्तामा हस्तान्तरण गर्नु हो । शिक्षाको सांस्कृतिक कार्यले मानिसको विश्वास, विचारशैली, कुशलता, सौन्दर्य प्रति अनुरागपूर्ण भावना आदिको विकास गर्नु पनि हो ।
- देशको धर्म र संस्कृतिको विकास विस्तार, संरक्षण र संवर्द्धन गर्नुका साथै भाषा, संस्कृति साहित्य कला आदिको प्रचारप्रसार विकास विस्तार गर्ने कार्य शिक्षाको हो ।
- शिक्षाले धर्म संस्कृतिका माध्यमबाट बालबालिकालाई सुसंस्कृत एवम् परिष्कृत बनाउने तथा खराब संस्कृतिहरु हटाउदै नयाँ संस्कृतिको स्थापना गराउने कार्य गर्दछ ।

शिक्षाको आर्थिक कार्य

शिक्षाले व्यक्तिलाई श्रमप्रति आदर गर्ने, व्यावसायिक सीप सिकाई निपूर्ण बनाउने तथा आर्थिक दक्षता सिकाई सक्षम जीवनयापनका लागि सबल बनाउनुपर्छ । आर्थिक आत्मनिर्भरता र दक्ष जनशक्ति अर्थतन्त्रका आधार हुन् । त्यसैले कृषि, उद्योग, व्यापार र अन्य सेवालाई आवश्यक उत्पादनमूलक जनशक्ति तयार गरी मानिसको आर्थिक पक्ष सबल तुल्याउनु शिक्षाको आर्थिक कार्य हो । शिक्षाको आर्थिक कार्यभित्र व्यक्तिको संरक्षण, अस्तित्त्व, व्यावसायिक दक्षता र आर्थिक उन्नति पर्दछन् ।
- शिक्षाले व्यक्तिमा गाँस, बास, कपासजस्ता आधारभूत समस्याको समाधान गर्ने व्यक्तिलाई भौतिक रुपमा समुन्नत गरी जीवनस्तरमा सुधार गर्ने स्वावलम्बी शिक्षाको विकास एवम् व्यावसायिक शिक्षामा जोड दिने कार्य गर्दछ ।
- हरेक मुलुकले आर्थिक रुपमा सम्पन्न जनशक्ति उत्पादन गर्न शिक्षामा लगानी अभिवृद्धि गर्नुपर्छ । देशको प्राकृतिक साधन र स्रोतको परिचालन गर्न, आम्दानी उत्पादन, उपभोग, खरिविक्री, वितरण जस्ता धारणालाई समन्वय गर्नुपर्छ । तसर्थ आर्थिक कुशलताको प्राप्ती र आय आर्जन गर्ने शक्तिको विकास गर्नु नै शिक्षाको आर्थिक कार्य हो ।
शिक्षाको नागरिक कार्य शिक्षाले व्यक्तिमा नागरिक चेतनाको विकास गरी चरित्रवान् र राष्ट्रका लागि जिम्मेवार एवम् समर्पित कुशल नागरिक बनाउन सक्नुपर्छ । शिक्षाले समाज र राष्ट्रप्रति उत्तरदायी, आफ्ना अधिकार र कर्तव्यप्रति सजग, अरुको अस्तित्त्व व्याक्तित्वप्रति संवेदनशील एवम् प्रजातान्त्रिक मूल्य र मान्यताप्रति आस्था राख्ने व्यक्तित्व निर्माण गर्नुपर्छ । यसर्थ प्रजातन्त्रको संरक्षण संबर्द्धन गर्ने, कानुनी राज्यको स्थापना गर्ने, अरुको अधिकारको सम्मान गर्ने र नागरिक हकअधिकारप्रति जनचेतना जगाउने नागरिक तयार पार्ने कार्य शिक्षाको नागरिक कार्य हो ।
शिक्षाको नागरिक कार्यले व्यक्तिलाई सुयोग्य, चरित्रवान, योग्य जिम्मेवार नागरिकको रुपमा विकास गर्न नागरिकमा हुनुपर्ने योग्यता, क्षमता विकास गर्न, देशले निर्धारण गरेका ऐन नियम कानूनको पालना गराउन तथा न्यायिक र कानूनी राज्यको स्थापना गरी सभ्य नागरिक निर्माण गर्न सहयोग पुयाउँछ ।

शिक्षाको विश्वव्यापी कार्य

ज्ञानविज्ञान र सञ्चारको विकासले वर्तमान विश्व साँघुरो बन्दै गएको छ, भने विश्वव्यापी सञ्चारले मानिस नजिकिएका छन् । यसबेला शिक्षाले मानवतावाद र विश्वबन्धुत्वको पाठ पढाउन सक्नुपर्छ । संसारका राष्ट्रहरू एकअर्कामा अलग भएर बस्न नसक्ने भएकाले ती राष्ट्रबीच साझा सहमति र सद्भावनाको आवश्यकता पर्दछ । शिक्षाले अन्तर्राष्ट्रिय सहयोग, सद्भाव र समझदारी बढाउने कार्य गरी राष्ट्र-राष्ट्रका बीचमा सांस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक, मानवीय आदि स्रोतको आदानप्रदान गरेर उच्चतम उपलब्धि हासिल गर्न सक्नुपर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हितका लागि स्रोत र साधनको परिचालनमा जोड दिने कार्यलाई विश्वव्यापी कार्य भनिन्छ । 
संसारमा एक अर्को राष्ट्रहरु बीचमा भएका मत-भिन्नतालाई शिक्षाले अन्तर्राष्ट्रिय सदभाव, समझदारी एवम् सहयोगात्मक भावनामा परिणत गर्ने कार्य गर्नुपर्दछ । त्यस्तै विश्वको परिस्थिति प्रति नागरिकलाई सुसुचित गरी राष्ट्रिय एकता, विश्ववन्धुत्व अन्तर्राष्ट्रिय सहयोग सद्भाव, समझदारीको विकास गराउने विश्वव्यापी कार्यहरु निम्न छन् :
(क) विश्वबन्धुत्वको सम्बन्धको विकास
विभिन्न राष्ट्रहरूका बीचमा आपसी सम्बन्ध हुन्छ । अन्तर्राष्ट्रिय मान्यता अनुसार राष्ट्रहरू आ-आफ्नो कार्यमा लागेका हुन्छन् । हरेक राष्ट्रहरूको राष्ट्रिय नागरिकहरूको एक आपसको सुमधुर सम्बन्ध कायम गराउनु शिक्षाको काम भएकोले यसलाई शिक्षाको अन्तर्राष्ट्रिय कार्य मानिएको हो ।
(ख) संस्कृतिको आदानप्रदान
प्रत्येक राष्ट्रहरूको बीचमा संस्कृतिको आदानप्रदानले राष्ट्र-राष्ट्र र नागरिक नागरिकबीच सुमधुर सम्बन्ध कायम हुने भएकाले आ-आफ्नो संस्कृतिको आदानप्रदानबाट विश्ववन्धुत्वको भावनाको विकासमा सहयोग पुग्दछ ।
(ग) बिज्ञान र प्रविधिको आदानप्रदान
वर्तमान युग विज्ञान र प्रविधिको युग भएकोले विकसित र विकासोन्मुख देशहरूमा विज्ञान र प्रविधिको आदानप्रदान गर्ने कार्य शिक्षाको हो । शिक्षाले यस्ता नयाँ-नयाँ प्रविधिको विकास गर्ने माध्यमको भूमिका निर्वाह गर्नुपर्दछ ।
(घ) राष्ट्रहरूको समानुपातिक विकासमा सहयोग
एक राष्ट्रले अर्को राष्ट्रलाई सामाजिक आर्थिक शैक्षिक तथा विभिन्न क्षेत्रमा सहयोग पुयाउनु शिक्षाको अन्तर्राष्ट्रिय कार्य हो । सबै राष्ट्रहरूको समानुपातिक विकासका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न संघ संस्थाहरू स्थापना भएका छन् । राष्ट्र राष्ट्रका बीचमा मैत्रिपूर्ण र कुटनैटिक सम्बन्धहरू स्थापना गर्न, अन्तर्राष्ट्रिय मान्यताका आधारमा राष्ट्रिय विकासमा एक आपसको सहयोग गर्ने दायित्व पूरा गर्न शिक्षाले अहम भूमिका निभाएकोले यसलाई शिक्षाको अन्तर्राष्ट्रिय कार्य भनिन्छ ।
(ङ) मानवीय शक्तिको विकास र आदानप्रदान
जसरी विज्ञान र प्रविधिको विकास हुन्छ, त्यसैगरी मानवीय शक्तिहरूको विकास भएको हुन्छ । एक देशको आवश्यकता पूरा गर्न अर्को देशमा पठाएर वा आफ्नै देशमा मगाएर मानवीय शक्तिहरूको ज्ञान र सीपलाई आदानप्रदान गराउने कार्य शिक्षाले गर्ने हुनाले यसलाई अन्तर्राष्ट्रिय कार्य भनिएको हो ।
(च) अन्तर्राष्ट्रिय मञ्चको प्रयोग
विभिन्न राष्ट्रहरू विशेषतः कमजोर राष्ट्रहरूलाई विभिन्न किसिमका समस्याहरू समाधान गर्न UNO जस्तो अन्तर्राष्ट्रिय मञ्चको प्रयोग गर्ने शिक्षाको अन्तर्राष्ट्रिय कार्य हो ।
(छ) आन्तरिक मामिलाको अहस्तक्षेप
विभिन्न शक्ति राष्ट्रहरूले कमजोर राष्ट्रहरूलाई प्रभुत्ववादी, साम्राज्यवादी, विस्तारवादी नीति अनुरूप हस्तक्षेप नगरून भनेर अहस्तक्षेपकारी नीति अपनाउन सहयोग र समझदारी बढाउन शिक्षाले महत्त्वपूर्ण कार्य गर्दछ ।

Post a Comment

0 Comments